नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

नेपालगन्ज १६ पुष : नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रूपमा रहेको छ । 

मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ।

विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन प्रवद्र्धन भई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको आधार तय हुँदै गएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१-८२ मा रु ६ लाख ७१ हजार बराबरको दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात भएको थियो । त्यस्तै रु एक करोड एक लाख बराबरको १७ हजार १९८ किलो च्याउ निर्यात भएको मन्त्रालयको तथ्याङ्क छ ।

त्यसैगरी, पछिल्लो समय सुकाएको च्याउसमेत निर्यात हुन थालेको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको छ ।

हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान रहेका छन् । मुलुकभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु २० अर्बको हाराहारी रहेको च्याउ उत्पादन किसान सङ्घ नेपालका अध्यक्ष सन्तोष कार्की बताउँछन् । 

उनका अनुसार नेपालमा सर्वप्रथम गोब्रे च्याउको उत्पादन र अनुसन्धानपश्चात् २०३०÷३१ सालमा गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको हो ।

Duduwa Tato hawa Bachau Image

राष्ट्रिय कुषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधिसम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४-३५ सालदेखि नै काठमाडौंको बलम्बु, चापागाउँ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर च्याउखेती गरिँदै आइएको छ ।

च्याउ उत्पादन प्रवद्र्धन एवं व्यवसायीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । हाल च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवद्र्धन एवं नीतिगत सहजीकरणमार्फत मूल्य शृङ्खला विकासका लागि कृषि विभागअन्तर्गत व्यवसायिक कीट विकास केन्द्रबाट कार्यक्रम सञ्चालन हुँदै आएका र अनुसन्धान एवं गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रबाट कार्यक्रम सम्पादन हुँदै आएको छ ।

नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबाट पुष १५ गते प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष पुष १५ गते राष्ट्रिय च्याउ दिवस मनाइनेछ ।