नेपालगन्जका पूर्व मेयरको आमरण अनशन

नेपालगन्जका पूर्व मेयरको आमरण अनशन

नेपालगन्ज १ पुष : सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता अदालतको आदेश कार्यान्वयनको माग राख्दै आमरण तथा रिले अनसन बसेका छन्।

जिल्ला प्रशासन कार्यालय, बाँकेको मुख्य प्रवेशद्वार अगाडि सहकारीका पीडित ५ जना आमरण तथा रिले अनसन बसेका छन्। ५ जनामध्ये एक जना आमरण अनसन र ४ जना रिले अनसन बसेका हुन्।

वरिष्ठ अधिवक्ता एवम् सहकारी पीडित संघर्ष समितिका संयोजक विजय गुप्ता आमरण अनसनमा बसेका छन् । गुप्ता नेपालगन्जका पूर्व मेयर समेत हुन् । माया पासी, रामचन्द्र पासी, मोतिकुमारी पासी र गुग्धी यादव रिले अनसनमा बसेका छन् ।

पीडितहरु ६ वर्षदेखि सडक आन्दोलनमा छन् । सहकारीमा ४३ करोड रुपैयाँभन्दा बढी अपचलन भएपछि २०७६ असोज २८ गते ४१ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले २०८० पुस २६ गते १९ जनालाई कसुरदार ठहर गरेको थियो ।

जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सदर गरिसकेको छ। अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगो भराउने आदेश गरेको छ।

त्यससँगै सहकारी डिभिजन, मन्त्रालय, जिल्ला प्रशासन, पीडितका प्रतिनिधि राखेर तदर्थ समिति बनाउन र विशेष साधारण सभा गरेर सहकारीलाई सञ्चालनमा ल्याउन भनिएको थियो ।

संघर्ष समितिका संयोजक गुप्ताले दुई महिनामा तदर्थ समिति बनाउनु भन्ने अदालतको आदेश कार्यान्वयन नभएकाले आमरण तथा रिले अनसन सुरु गरिएको बताए। तदर्थ समिति हुँदै विशेष साधारण सभा गरेर सहकारी सञ्चालन गर्न सकिएमा उठाउन बाँकी कर्जा उठाउने, कसुरदारबाट बिगो भराउने र बचतकर्ताको रकम फिर्ता गर्दै जाने गुप्ताको भनाइ छ ।

Duduwa Tato hawa Bachau Image

अनसन सुरु गरेका पीडितले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेश कार्यान्वयन नहुँदासम्म अनसन जारी रहने बताए ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई सहजीकरणका लागि जिम्मेवारी दिएको छ। जिल्लाको ठूलोमध्येको उक्त सहकारीमा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् ।