खजुरामा दोस्रो एनप्याब्सन पालिका स्तरीय रनिङ शिल्ड सुरु

खजुरामा दोस्रो एनप्याब्सन पालिका स्तरीय रनिङ शिल्ड सुरु

खजुरा १९ मंसिर : बाँकेको खजुरामा दोस्रो नेशनल प्याब्सन पालिका स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन ) खजुराको आयोजनामा बिहीबारदेखि मिनी रंगशाला डि गाउँमा शुरु गरिएको हो । 

रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले संस्थागत विद्यालयहरुले विद्यार्थीलाई खेल क्षेत्रमा पनि प्राथमिकता दिएको भन्दै खुसी व्यक्त गरे । 

खेलकुदको हब बनेको खजुराले विद्यालय स्तरमा खेलकुद प्रतियोगिताले नव खेलाडी उत्पादन गर्न मदत पुगाएको अध्यक्ष विकले बताए । एनप्याब्सनसँग आबद्ध रहेका ११ विद्यालयले सहभागिता जनाएको रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरुले उल्लासमय रुपमा सहभागिता जनाएका छन् । 

नेशनल प्याब्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीका अनुसार ५ सय विद्यार्थी सहभागी भएका छन् ।  

प्रतियोगितामा पूर्व प्राथमिक तहका खेलहरु बल काउन्ट, कुर्सी दौड, १०० मीटर दौड जसमा ६६ खेलाडीले भाग लिइरहेका छन् । यस्तै, कक्षा १ देखि ३ सम्म चम्चा दौड, गणित दौड भएका छन् । यसमा ४४ जना विद्यार्थी सहभागी छन् । 


कक्षा १ देखि ५ सम्म (छात्र – छात्रा) तर्फ १०० मीटर दौड, रिले दौड १०० × ४ लङजम्प प्रतियोगिता आज शुक्रबार भइरहेकोछ ।

उक्त खेलमा १३२ जना विद्यार्थी खेलाडी सहभागी भएको एनप्याब्सन खजुराका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका २५० जना  छात्र छात्रा बीच १०० मीटर दौड, रिले १०० × ४, सटपट, ज्यक्लिङ थ्रो र लङ्गजम्प खेलमा सहभागिता जनाएका छन् ।  

Duduwa Tato hawa Bachau Image

कक्षा ६ देखि ८ सम्मका विद्यार्थी खेलाडी बीच भलिबल प्रतियोगिता  बिहीबार नै सम्पन्न भएको छ । यस्तै अण्डर १२ छात्र फुटबल प्रतियोगिता आज शुक्रबार हुँदैछ ।  


उद्घाटन कार्यक्रममा आकर्षक सांस्कृतिक झाँकी, मार्च पास गरिएको थियो । खजुरा गाउँपालिका खेलकुद विकास समितिसँगको सहकार्यमा भएको कार्यक्रममा न्यू डाँफे स्पोट्र्स क्लब खजुराले व्यवस्थापनमा सहयोग गरेको थियो । 

कार्यक्रम अवधिभरका लागि खजुरा स्थित बाँके सिटी हस्पिटल प्रालीले निःशुल्क रुपमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।