नेपालगन्जसहित लुम्बिनी प्रदेशमा महानगरपालिका बनाउने योजना अलपत्र
नेपालगन्ज २६ कार्तिक : बाँकेको नेपालगन्जसहित लुम्बिनी प्रदेशमा महानगरपालिका बनाउने योजना अलपत्र परेकोछ । लुम्बिनी प्रदेशमा सात वर्षअघि सारिएको महानगरपालिका निर्माणको योजना अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा महानगरपालिका घोषणा गर्ने नीति ल्याए पनि त्यसपछिका सरकारले त्यसलाई प्राथमिकता दिन नसक्दा योजना अलपत्र परेको हो ।
रुपन्देहीमा बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकालाई गाभेर एक महानगर बनाउने प्रस्ताव थियो ।
दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिकालाई एकीकृत गरी अर्को महानगर र बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई मिलाएर तेस्रो महानगर बनाउने योजना बनाइएको थियो ।
त्यसपछिका सरकारले उक्त नीति र कार्यक्रमलाई निरन्तरता नदिँदा योजना व्यवहारमा आउन सकेको छैन । पोखरेलपछि माओवादी केन्द्रका कुलप्रसाद केसी र जोखबहादुर महरा, एमालेका लीला गिरी, अहिलेका चेतनारायण आचार्य र काँग्रेसका डिल्लीबहादुर चौधरीले लुम्बिनीको नेतृत्व गरे । कसैले पनि महानगरपालिका घोषणा गर्ने योजनालाई अघि सारेनन् ।
प्रदेशको दीर्घकालीन विकासभन्दा पनि निजी स्वार्थमा केन्द्रित हुँदा कुनै ठोस योजना अघि बढ्न सकेको छैन । महानगरपालिका घोषणा सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले त्यसबारे केवल अध्ययन र सिफारिसको भूमिका मात्रै निर्वाह गर्न सक्छ । सङ्घीय सरकारसँगको समन्वय र निर्णय प्रक्रिया लामो भएकाले यो विषय अध्ययनमै सीमित रहँदै आएको बताइएकोछ ।





0 Comments