यस वर्ष बाँकेमा २० हजार क्वीन्टल धान खरिद गरिदैँ
नेपालगन्ज १५ कार्तिक : बाँकेमा यस वर्ष २० हजार क्वीन्टल धान खरिद गरिदैँछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले यस वर्ष २० हजार क्वीन्टल धान खरिद गर्ने जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरि जम्मा २० हजार क्वीन्टल धान खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको बताए ।
उनले गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्वीन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ । साथै यस वर्ष २० हजार क्वीन्टल मात्र धान खरिदको कोटा आएको बताए ।
सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।
हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्वीन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
गत वर्ष धान खरिद गरेर तयार गरिएको चामल महँगो भयो भनेर बिक्री नहुँदा यसपटक धेरै धान खरिद गर्न नसकिने अवस्था आएको सो कार्यालयले जनाएको छ । तर, कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुबै धानमा करिब नौ सय रुपैयाँ क्वीन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन् ।
सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको उनीहरुको गुनासो छ । धान खरिदमा ढिलाइ गरिँदा सरकारले तोकेको मूल्य नपाएपछि आफुहरुले बाध्य भएर नौ सय रुपैयाँ कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको किसानको भनाईछ ।





0 Comments