तिहारमा सुनका सिक्का किन्न नपाइने
नेपालगन्ज २८ असोज : नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी बिक्री नगर्ने भएको छ । राष्ट्र बैंकले यसपटक सुनका नयाँ असर्फी नछापेकाले बिक्री नगर्ने भएको हो ।
सुनका असर्फी छाप्न केन्द्रिय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नु पर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।
विगतका वर्ष जस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने भएका हुन् । तर, चाँदीका सिक्का भने बिक्री भइरहेकोछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।
राष्ट्र बैंकले ४ प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको । पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भएपनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रिय बैंकले सञ्चितिको रुपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ । गत वर्षको धनतेरसमा राष्ट्र बैंकले करिब ११ किलो सुन बिक्री गरेको थियो ।





0 Comments