तिहारका लागि माटोका दियो बनाउन भ्याइनभ्याई

तिहारका लागि माटोका दियो बनाउन भ्याइनभ्याई

नेपालगन्ज २७ असोज : नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै बाँकेका कुम्हाल समुदाय यति बेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् । उनीहरूलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ ।

तिहार र छठ जस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढी हुने गरेकाले कुम्हाल समुदायमा भाडा बनाउनेहरू दियो, कलश र भुर्की बनाउन केही समय यता निकै व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।

नेपालगन्ज–३ का रमेश कुम्हालले आधुनिकता र नयाँ–नयाँ भाडा वर्तनको चलनले माटाबाट बनेका भाडाको बिक्री पहिले जस्तो नभएपनि अझै दियो लगायत केही भाडाको माग अत्यधिक हुने गरेकोले तयार गरिरहेको बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

उनले पहिले जस्तो माग नभए पनि अहिलेपनि चाडपर्वमा माटोको भाडा खोज्नेहरू धेरै आउने गरेको र कतिपयले त खोजेर पनि नपाउँदा निराश भएर अन्य भाडाबाट काम चलाउने गरेकोले बनाउनु परेको बताए ।

हालको बजारको माग अनुसार घैटा, दियो, पाला, भुर्की आफुले बढी बनाउने गरेको रमेशको भनाइ छ । उनले सबैभन्दा बढी तिहारको बेला दियो बिक्री हुने गरेको र माग अनुसार पु¥याउनै नसकिने हुँदा केही समय पहिलेबाटै बनाउन सुरु गरेको बताए ।

प्रति दियो दुई रुपैयाँमा बेच्ने गरेको जनाउँदै उनले तिहारको बेला आफुले मात्र ३० हजारभन्दा बढी दियो बिक्री गर्ने गरेको सुनाए ।

सोही प्रकारले नेपालगन्ज–१३ का दिनेश कुम्हालले पनि अहिले आएर यो पेशाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेशालाई निरन्तरता दिँदै चाडपर्वको बेला बढी माटाका भाडाकुँडाहरू बनाउने गरेको बताउँछन् ।

Duduwa Tato hawa Bachau Image

उनले पुर्खाहरूले गरेको कामलाई चटक्कै छोड्न नसकिने जनाउँदै अहिलेको युवा पुस्तामध्ये अधिकांशले यो पेशा छोडिसके पनि आफुले आफ्नो पुर्खाको संस्कृतिको रूपमा रहेको यो पेसा जारी राखेको बताए ।

विशेष गरी तिहार तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले भाडा बनाउन रात दिन नभनी व्यस्त रहेको अधिकांश स्थानीय कुम्हालको भनाइ छ ।

अहिले नेपालगन्जको सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र आआफ्नै घरमा समेत कुम्हार समुदायले दियो र भुर्की लगायत माटोका भाडा बिक्री गरिरहेका छन् । त्रिभुवन चोकमा बाह्रै महिना माटोको भाडाको बिक्री हुने गरेको छ ।