नेपालगन्ज इजलासद्वारा न्यायिक सेवा सुरु

नेपालगन्ज इजलासद्वारा न्यायिक सेवा सुरु

नेपालगन्ज २६ असोज : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा भएको आगजनी लगायतका विशेष परिस्थितिका कारण अवरुद्ध भएका न्यायिक सेवाहरू आईतबारदेखि पुनः सञ्चालन गरिएका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अदालतमा आगजनी तोडफोड र लुटपाट गरिएपछि उत्पन्न विशेष परिस्थितिका कारण स्थगित भएका अदालतका न्यायिक सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरिएकाले आइतबारबाट सेवा सुचार गरिएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले जनाएको छ ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिस्ट्रार सपना अधिकारीले गत बिहीबार नै एक सूचना जारी गरेर असोज २३ गतेको पूर्ण बैठकको निर्णयानुसार असोज २६ गतेदेखि लागु हुनेगरी आंशिक रूपमा रोकिएका थप सेवाहरू विस्तार गर्दै अदालतका नियमित कामहरू पुनः सञ्चालन गर्ने जानकारी गराएका थिए ।

आईतबारबाट सुचारु गरिएका सेवाहरुमा म्याद थप, पक्राउ पुर्जी जारी र समर्थन, नयाँ अभियोग पत्र दर्ता र सो उपरको थुनछेक, निषेधाज्ञा र सबै प्रकारका रिट दर्ता, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ बमोजिमका निवेदन दर्ता र सुनुवाई, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिमका निवेदन दर्ता र सुनुवाइ, रजिष्ट्रारका आदेशउपरको निवेदन, फैसला प्रतिलिपि वितरण, चालु मुद्दा फिर्ता र मिलापसम्बन्धी कार्यहरूको सुनुवाइ लगायतका सेवाहरू रहेको रजिस्ट्रार अधिकारीले बताए ।

Duduwa Tato hawa Bachau Image

उनले पुनरावेदन तथा सुरु मुद्दा दर्ता र यस अदालतमा भदौ २४ गतेसम्म विचाराधीन मुद्दा तथा रिट निवेदनहरूको म्याद, हदम्याद, तारिख लगायतका थप सेवा तिहारको बिदापछि सरोकारवालासँग आवश्यक छलफल र समन्वय पछि पुनः अर्को निर्णय गरेर सञ्चालन गरिने बताए ।

आईतबारबाट अदालतले धेरै सेवाहरू पुनः सुचारु गरेपछि अदालतको काम कारबाही अगाडि बढेको र यसबाट सर्वसाधारणलाई ठुलो राहात पुग्ने अधिवक्ता विश्वजित तिवारीले बताए ।