तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

नेपालगन्ज २४ असोज : कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ। त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिहेका छन्।  

घोेराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो। उनका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ। तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ।  

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए। ‘बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु’, ७० वर्षे बादीले भने। उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ। यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उहाँले उल्लेख गरे।  

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

तिहारमा देउसी भैलो खेल्नेहरु हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन्। नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए।  

Duduwa Tato hawa Bachau Image

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र  रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन्। उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन्। आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाइन्। आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताइन्। परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ ।

उनी  मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्छन्। मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ। -रासस