सरकारी भवनमा सर्‍यो यातायात कार्यालय नेपालगन्ज

सरकारी भवनमा सर्‍यो यातायात कार्यालय नेपालगन्ज

नेपालगन्ज २४ असोज: नेपालगन्जमा विभिन्न सरकारी कार्यालय रहेका भवन खाली हुँदाहुँदै भाडाकै नीजि भवनबाट चलिरहेको यातायात कार्यालयलाई जेनजी अन्दोलनले सरकारी भवनमा सारिदियो ।

बाँकेगाउँको एक नीजि भवनबाट सञ्चालनमा हुँदै आएको यातायात व्यवस्था कार्यालय जेनजी आन्दोलनका क्रममा ध्वस्त भयो । सबै कागजात जलेर नष्ट भए, सेवाहरु पूर्णरुपमा बन्द भए ।

१० महिनाअघि यातायात कार्यालय व्यवस्थापन गर्ने भनेर बनाइएको कार्यदलले प्रस्तुत गरेको सुझाव अनुसार नेपालगन्जमा रहेको सामाजिक विकास डिभिजनको कार्यालय वा साविक सीप विकास तालिम केन्द्रको सरकारी भवनमा कार्यालयमा सार्न उपयुक्त हुने भनिएको थियो । जेनजी आन्दोलनपछि कार्यालय कहाँबाट कार्यालय सञ्चालन गर्ने भन्ने विषयमा छलफल भए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

यद्यपी पहिलेदेखिकै कार्यदलले प्रस्तुत गरेकै सुझाव अनुसार यातायात कार्यालय साविक सीप विकास तालिम केन्द्रको सरकारी भवनबाट सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको २०८२–०६–०८ को निर्णय अनुसार यातायात व्यवस्था कार्यालय साविक सीप विकास तालिम केन्द्रको भवनमा सारिएको छ ।

यातायात व्यवस्था कार्यालय नयाँ भवनमा सरेसँगै जेनजी आन्दोलनपछि बन्द रहेका सेवाहरु क्रमशः सुचारु गर्न थालिएको कार्यालयका निमित्त कार्यालय प्रमूख कालिदास वस्यालले जानकारी दिएका छन् । उनका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बन्द रहेका सेवाहरुमध्ये पहिलो चरणमा कार्यालयबाट चार प्रकारका सेवाहरु सञ्चालन हुनेछन् ।

Duduwa Tato hawa Bachau Image

कार्यालयले पहिलो चरणमा सवारी दर्ता किताब (ब्लुबुक) नविकरण, बाटो इजाजत सम्बन्धी सेवा, सवारी जाँचपास सम्बन्धी सेवा र अस्थायी बाटो इजाजत (पटके) सेवा दिने निमित्त कार्यालय प्रमूख वस्यालले जानकारी दिए । उनका अनुसार कार्यालय व्यवस्थापनसँगै अन्य सेवाहरु पनि सुचारु गर्दै लैजाने गरी प्रशासनीक र प्राविधिक काम भइरहेको छ ।