६ अर्बमा बन्दैछ बाँके–दाङ जोड्ने छोटो दुरीको हुलाकी सडक
सडकखण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र
नेपालगन्ज २३ असोज : हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्तीसोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्डको निर्माण प्रक्रिया अगाडि बढाएको छ । हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले यो खण्डमा निर्माण कार्य अघि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस गरिसकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चित हुने र सोपश्चात् ठेक्का व्यवस्थापनको काम अघि बढाइने बताए । आयोजनाका अनुसार नारायणपुर–राजपुर सडकखण्ड निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै गुरुयोजना (डिपिआर) तयार गरिसकेको थियो ।
गुरुयोजना अनुसार यो खण्ड निर्माण गर्न करिब छ अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने जनाउँदै सो सडकखण्डमा करिब १५ वटा पुल निर्माण गर्नुपर्ने देखिएको बताए । उनले सडकखण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको पनि बताए ।
आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले भने, ‘हाम्रो कार्यक्षेत्रमा हुलाकी सडकको काम लगभग सकिएको छ तर बाँके र दाङ जिल्ला जोड्ने मुख्य सडकको काम रोकिएकाले अब अगाडि बढाइनेछ ।’ छोटो दुरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगन्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारीसाधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेको आयोजनाले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालयले दाङको कालाकाटेबाट गढवा हुँदै राजपुर गाउँपालिका कार्यालयको मुख्य प्रशासनिक भवनसम्म सडक निर्माण सम्पन्न भइसकेको जनाएको छ । त्यस क्षेत्रका कतिपय स्थानमा निर्देशनालयले पुलसमेत बनाइसकेको छ । आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चित प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको बताए ।





0 Comments