चाडबाड लक्षित सहुलियत पसल नाम मात्रैका, महँगीको मारमा उपभोक्ता

चाडबाड लक्षित सहुलियत पसल नाम मात्रैका, महँगीको मारमा उपभोक्ता

नेपालगन्ज २१ असोज : सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी हरेक वर्ष देशका विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला उपभोक्तालाई सहुलियत दिन नेपालगन्जमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले ‘सुपथ मूल्य पसल’ सञ्चालन गरेका छन् । तर, ती पसल नाम मात्रका छन् । न धेरै छुट छ, न त धेरै वस्तु नै बिक्रीमा राखिएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ‘सुपथ मूल्य पसल’मा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएर चामल मात्र बिक्रीमा राखिएको छ । कम्पनीको नेपालगन्जस्थित कार्यालयमा यसअघि प्रतिकिलो ८८ मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३ मा, प्रतिकिलो ६४ मा बिक्री भइरहेको अरुवा मध्यम चामल हाल प्रतिकिलो ५९ मा र प्रतिकिलो ६२ मा बिक्री भइरहेको अरुवा मोटो चामल प्रतिकिलो ५७ रुपैयाँमा बिक्री भइरहेको कार्यालयले जनाएको छ ।

चाडबाड लक्षित गरी प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री सुरु गरिए पनि उपभोक्ता भने उक्त चामल किन्नै आएका छैनन् । कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले कात्तिक १० सम्म दुई सय क्विन्टल बिक्री लक्ष्य लिए पनि हाल दैनिक एकदेखि डेढ क्विन्टल मात्र चामल बिक्री भइरहेको बताए ।

‘चिनी, दाल, तेलसमेत बेच्ने लक्ष्य थियो, उनले भने, ‘सीमावर्ती बजार रुपैडिहामा सस्तो पाइने भन्दै उपभोक्ता उतै जाने भएकाले कम्पनीको चामलसमेत बेच्न गाह्रो भएको छ ।’

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

नेपालगन्जमा सहुलियत पसललाई मिनीमार्टको रुपमा सञ्चालन गर्न सकिने अवस्था भए पनि त्यसका लागि सरकारले उपयुक्त गोदामघर निर्माण गर्न जरुरी रहेको प्रमुख लामिछानेको भनाइ छ । सुरक्षित भण्डारण स्थल भए आगामी वर्षदेखि सञ्चालन गर्न सकिने उनले बताए ।

नाम मात्रको सहुलियत पसल सञ्चालन गर्दा न कम्पनीले बेच्न सकेको छ, न त उपभोक्ताले त्यसको लाभ पाउन सकेका छन् । कम्पनीले गत वर्ष पनि सहुलियत पसल सञ्चालन गरी एक सय ७० क्विन्टल चामल मात्र बिक्री गरेको थियो ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको प्रदेश कार्यालय नेपालगन्जको सहुलियत पसलमा दुई रुपैयाँ छुट दिएर आयोडिनयुक्त नुन बिक्रीमा राखिएको छ भने सरफ, साबुन र विद्युतीय चुलोबाहेक अन्य उपभोग्य सामान नहुँदा उपभोक्ताको उपस्थिति खासै छैन । 

कर्पोरेसन नेपालगन्ज प्रमुख वासुदेव उपाध्यायले बजारभन्दा टाढा भएका कारण नुन मात्र किन्न उपभोक्ता खासै आउन नसकेको बताए । सीमावर्ती क्षेत्रमा भएका कारण चिनीलगायत अन्य वस्तु ल्याएर बेच्न नसकिएको उनको भनाइ छ ।

Duduwa Tato hawa Bachau Image

सरकारी सहुलियतका पसल नाम मात्रका हुँदा उपभोक्ताले त्यसको लाभ पाउन सकेका छैनन् भने महँगीको सामना गर्नुपरेको गुनासो छ । नेपालगन्ज– २० की स्थानीय सन्ध्या शर्माले सहुलियत पसलका नाममा उपभोक्ता झुक्याउने काम मात्र भएको बताइन् । खाद्य र साल्ट ट्रेडिङको दूरी पाँच किलोमिटरको फरकमा भएकाले नुन अनि चामल मात्र किन्न त्यहाँ जान नसकिने उनको भनाइ छ ।

सरकारले देखावटी रुपमा मात्र सहुलियत पसल राखेकाले त्यसले उपभोक्तालाई लाभ नहुने भन्दै एउटै छानामुनि विभिन्न उपभोग्य खाद्यवस्तु राखेर सञ्चालन गरिए नागरिकले लाभ पाउने र व्यवसायीको पनि सहयोग रहने नेपालगञ्ज उद्योग वाणिज्य संघका टंक धामीले बताए ।

अर्कोतर्फ बढी भीडभाड हुने चाडवाडको समय नियामक निकाय मौन बस्दा उपभोक्ता महँगीको मारमा परेका छन् । फलस्वरुप सीमापारिको बजार रुपैडिहामा नेपालीको थामिनसक्नु भीड छ ।