दशैंमा पूर्वराजाको सन्देश : बिगार्ने होइन सपार्नेतिर अघि बढौं

राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो यसपटक टीका–जमरा प्रदान नहुने
दशैंमा पूर्वराजाको सन्देश : बिगार्ने होइन सपार्नेतिर अघि बढौं

नेपालगन्ज १२ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’

हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ ।’ उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् । 

‘यही समयको माग हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।’

Duduwa Tato hawa Bachau Image

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको पूर्वराजा शाहले प्रस्ट पारेका छन् । ‘यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’

उनले नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा, सद्भाव आदान–प्रदान गरिने दशैँ पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो टीका–जमरा प्रदान नहुने र पारिवारिक रूपमा पर्व मनाउन बाध्य भएको जनाइएको छ।