फूलपातीदेखि लगातार पानी पर्ने
सावधानी अपनाएर यात्रा गर्न मौसमविद्को सुझाव
- | नेपाखबर | सूचना-प्रविधि
- ११ असोज २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज ११ असोज : फूलपातीपछिका दिन दशैंको टीका र त्यसपछि पनि लगातार पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम विभागले सोमबार (फूलपाती)देखि नै देशको मौसम प्रणालीमा बदली हुने र मनसुन बढी सक्रिय हुने जनाएको छ । मौसम पूर्वानुमानलाई हेर्दा यो वर्षको दशैं हिले दशैं हुने देखिएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर भएर स्थानीय वायुको प्रभाव बढेको छ । जसले मनसुन निस्क्रिय भएको छैन । आज (शनिबार) खुला देखिएको आकाश फूलपातीसम्म यथावत रहने भएपनि फूलपातीकै दिन अबेरदेखि मनसुन सक्रिय रहनेछ । जसले यो वर्षको दशैंलाई हिले बनाउने प्रायः निश्चित जस्तै छ । मौसमविद प्रतिभा मानन्धरले मनसुनको सक्रियता दशैंभर नै रहने बताइन् ।
उनले भनिन्, ‘हामीसँग तीन दिनको पूर्वानुमान गर्नसक्ने मात्र प्रविधि छ । त्यसपछिको पूर्वानुमान गर्न कठिन छ । तर, मौसम प्रणालीलाई हेर्दा यो वर्षको दशैंमा फूलपातीदेखि देशका अधिकांश ठाउँमा पानी पर्छ । ठूलो पानी पर्ने सम्भावना कम रहे पनि लगातार सिमसिम पानी परिरहने छ ।’
देशको पूर्वी भागमा मनसुन बढी सक्रिय हुने र मध्यमागमा स्थानीय वायुको प्रभाव बढ्ने उनले बताइन । ‘दशैंको अवधिमा धेरै स्थानमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । यो विशेषतः पूर्व हुँदै पश्चिमतिर सक्रिय हुने देखिन्छ । यो पटक स्थानीय वायुको प्रभाव र मनसुनी वायु मिसिँदा धेरै वर्षा हुने सम्भावना देखिएको हो । पूर्वमा मनसुन बढी सक्रिय हुने, मध्य नेपालमा स्थानीय वायुको प्रभाव बढी हुने देखिन्छ ।’
स्थानीय वायुसँगै नेपाल भित्रिएको बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि बढी देखिएकाले फूलपातीदेखि पानी पर्ने देखिएको उनले बताइन । अक्टोबर दुईदेखि सात (असोज १६ देखि २१)सम्म पानी पार्ने प्रणाली सक्रिय हुने देखिएकाले दशैं हिले हुने निश्चित जस्तै भएको मानन्धरले बताइन ।
देशभर लगातार पानी परे पनि बाढीको जोखिम हुने खालको ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले बताइन । लगातार पानी पर्दा पहिरोको जोखिम भने कायम रहेको भन्दै उनले यात्रा गर्दा सावधानी अपनाउन सुझाएकी छन् । उनका अनुसार असोज १४ पछि झरीको सम्भावना बढेर गएको छ ।





0 Comments