नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त भए खापुङ
नेपालगन्ज १३ भदौ : नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।
आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।
खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए । खापुङ आईजीपी थापासँगै भर्ना भएका थिए ।
३२ औँ प्रहरी महानिरीक्षक बन्न लागेका खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।
खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।





0 Comments