विद्यालय शिक्षा विधेयकप्रति नेपालगन्जमा निजी विद्यालयहरुको आपत्ति
भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने घोषणा
नेपालगन्ज १२ भदौ : प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालयहरुका विभिन्न संगठनहरु आन्दोलनमा छन् ।
संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको उनीहरुको ठहर छ । त्यसकै विरोध स्वरुप आज नेपालगञ्जमा कोणसभा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके अगाडि आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी ल्याइने विधेयक नेपाली जनताको हितमा हुन नसक्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहित गरिनुको साटो सरकार गलत बाटोमा हिंडेको उनको भनाई छ ।
नेपालको शिक्षा क्षेत्रलाई निजीले नै धानिदिएको यथार्थ बुझ्नुपर्नेमा उनको जोड छ । उनले आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाउँदै निजी विद्यालयको चासो र मागलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले विधेयकका सन्दर्भमा निजी विद्यालयहरुले उठाएको मुद्दा सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन् । कोणसभा कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्र प्रसाद आचार्य, जिल्ला अध्यक्ष विकास बज्राचार्यले शिक्षा विधेयकमा राखिएका कतिपय प्रावधान प्रतिकूल भएकोले संशोधनमा दबाब सिर्जना गर्न देशब्यापी आन्दोलन भइरहेको बताए । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएको संयुक्त आयोजनमा कोणसभा गरिएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरीले बताए ।
आन्दोलनको कार्यक्रम अन्तर्गत प्याब्सन बाँकले पछिल्लो पटक भदौ ६ गते शुक्रबार वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराएको थियो । सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २९ गते स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइसकिएको छ ।
यस्तै साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाएको प्याब्सनले भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाइएको थियो ।
यसैक्रममा प्याब्सन बाँकेले बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राणालाई ज्ञापनपत्र बुझाएको छ । प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य नेतृत्वको टोलीले राणालाई बुधबार साँझ ज्ञापनपत्र बुझाएको हो । राणाले प्याब्सनले उठाएका विषय गम्भीर रहेको भन्दै यसमा आफू संवेदनशील रहेको बताए ।
प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।
भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने घोषणा
यसैबीच, निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले ’गैरनाफामूलक’ र ’पूर्ण छात्रवृत्ति’ विधेयकबाट हटाउनुपर्ने मुख्य माग राखेका छन् ।
यस्ता छन् दोस्रो चरणका आन्दोलनः
१. मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई ¥याली हुँदै कोण सभामा परिणत हुने ।
२. मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
३. मिति २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने । काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य ¥याली गर्ने । उक्त यात्रीमा सबै संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।
४. मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।
५. मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।
६. मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।





0 Comments