नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडान : भारत सरकारसँग छलफल गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडान : भारत सरकारसँग छलफल गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

नेपालगन्ज २६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गरे ।

यसैबीच, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image


नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा पुगेका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग मन्त्री राणाले सो प्रतिबद्धता जनाएकी हुन् । 

मन्त्री राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’

उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । 

यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा.राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् । 

Duduwa Tato hawa Bachau Image


प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रूपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले सोमबार छुट्टा छुट्टै प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा.राणालाई भेटेर सो आग्रह गरेको हो ।

यसअघि आईतबार नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्ने विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन सर्बपक्षिय रुपमा माग गरिएको थियो । उक्त माग लिएर डेलिगेशनका लागि काठमाडौं पुगेको टोलीले आईतबार गरेको कार्यक्रममा बोल्ने बाँके, बर्दियासहित विभिन्न जिल्लाका संघीय सांसद तथा सरोकारवालाले यस्तो माग गरेका थिए ।

कार्यक्रमका बोल्ने वक्ताले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले दुबै देशका नागरिकलाई फाईदा पुग्ने बताए थिए । पश्चिम नेपालको आर्थिक समृद्धिमा यसले टेवा पुर्याउने उनीहरुको विश्वास छ । नेपाल सरकारले प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई एजेण्डाका रुपमा राख्नुपर्ने उनीहरुले सुझाव दिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका सांसद सञ्जय गौतम, राप्रपा महामन्त्री एवम् सांसद डा. धवलशम्शेर राणा, माओवादी नेता एवम् सांसद शक्तिबहादुर बस्नेत, एमालेका केन्द्रिय सदस्य एवम् सांसद सुर्य ढकाल, अन्य सांसदहरु दिपा शर्मा, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा बिक, अब्दुल खान, पूर्वमन्त्री महेश्वरजंग गहतराज, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पुर्वअध्यक्ष भवानी राणा लगायतले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्न प्रधानमन्त्री ओलीले आफ्नो एजेण्डामा राख्नुपर्ने बताएका थिए ।