बाँकेको राप्ती नदीमा पानीको सतह घट्दै
- | नेपाखबर | अपराध–घटना
- २२ साउन २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज २१ साउन : पछिल्लो तीन दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले मङ्गलबार बिहान चेतावनी तह पार गरे पनि बुधबार बिहानसम्म क्रमशः पानीको सतह घट्दै गएकाले ठुलो बाढी र डुबानको खतरा टरेको छ ।
पानीको सतह घटेर सामान्य बन्दै जाँदा बाढी र डुबानको खतरा हाललाई टरेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
उनले बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह तीन मिटर ४३ सेन्टिमिटरमा झरेको बताए ।
यो पनि राप्तीको जलसतहले सतर्कता तह पार गर्यो, नदी तटिय क्षेत्रमा हाई अलर्ट जारी
सोही प्रकारले बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि मङ्गलबार जलसतह सतर्कताको बिन्दु नजिक पाँच मिटर ७४ सेन्टिमिटर पुगेकोमा बुधबारसम्म घटेर तीन मिटर ५१ सेन्टिमिटरमा झरेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।
उनले वर्षा अझै पनि भइरहेकाले नदीको सतह बढ्न सक्ने आशङ्का रहेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको बताए ।
ज्ञवालीका अनुसार मङ्गलबार राप्ती नदीको सतह तीव्र गतिमा बढ्न थालेकाले बाँकेका तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको थियो ।
बाँके, दाङ, रोल्पा, प्यूठानमा लगातार दुई तीनदिनदेखि पानी परिरहेकाले अझैपनि नदीको सतह बढ्न सक्ने आशङ्का जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले गरेको छ ।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।





0 Comments