पाँचदशकदेखि पिप्रहवाघाटमा पुल निर्माणको आश्वासन मात्र

पाँचदशकदेखि पिप्रहवाघाटमा पुल निर्माणको आश्वासन मात्र

नेपालगन्ज १९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा स्थानीय बासिन्दाले तत्कालै पुल निर्माणको काम शुरु हुन्छ भन्ने आश्वासन पाएको पाँच दशक बितिसकेको छ । 

सरकारका मन्त्री, सांसद र राजनीतिक नेतृत्वबाट पाएको आश्वासन अहिलेसम्म पनि पुरा हुन सकेको छैन । स्थानीय बासिन्दाहरु दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

उमेरले ६ दशक पुग्न लागेका राप्तीसोनारी–७ का दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि आश्वासन पाउन थालेको पाँच दशक पुग्न थाल्यो । यो बिचमा पटक–पटक डुङ्गा दुर्घटना भई स्थानीयले ज्यान गुमाएको घटना आफ्नै अगाडी उनले देखे ।

पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरि डुङ्गा दुर्घटना भएको थियो । करिब एकसयजना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको पाण्डेले स्मरण गरे ।

नजिकै पुल नभएपछि ज्यान जोखिममा भएपनि डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ, स्थानीयबासिन्दा पाण्डेले भने, ‘सरकारबाट अहिलेसम्म आश्वासन बाहेक अरु केही पाउन सकेका छैनौं ।’

यो ठाउँमा २०५० सालतिर पनि डुङ्गा दुर्घटना भएको धेरैले सम्झेका छन् । गत वर्ष शुक्रबारे मेलामा जानेक्रममा डुङ्गा दुर्घटना भएपनि नदीमा पानी कम भएकाले मानवीय क्षति हुन नपाएको राप्तीसोनारी–७ का रसुद महमुद साईले बताए ।

Duduwa Tato hawa Bachau Image

राप्तीनदीमा पुल भएको स्थान सिधनियाबाट भन्दा दक्षिणतर्फ पिप्रहवासहित बालोपुरवा र सत्तीघाटमा समेत डुङ्गामार्फत आवागमन हुने गरेको छ । राप्तीसोनारी र नरैनापुरका किसानको डुडुवातर्फ खेती भएकाले अधिकाँशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगञ्ज पुग्न छिटो हुने भएकाले मानिसहरु डुङ्गको प्रयोग गर्ने गरेका छन् । 

बाँके क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य सुर्य ढकालले सो स्थानमा पक्कि पुलको आवश्यकता भएको भन्दै पुल निर्माणका लागि सम्वद्ध मन्त्रालयमा पहल गरिरहेको बताए ।