यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य

यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य

नेपालगन्ज १७ साउन : नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने स्पष्ट पारेका छन् । विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने स्पष्ट पारे ।


नेपाल पत्रकार महासंघ बाँके शाखाले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आमसञ्चार विधेयक पनि नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको स्मरण गरे । 

उनले पत्रकार महासंघको शुद्धिकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यसपटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image


नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य शर्त रहेको बताए । उनले संघियताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गरे । पोख्रेलले नवलोकप्रियताबादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने भन्दै अहिले देखिएको सिनारियो पनि त्यसकै अंश रहेको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने बताए । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उनले यसपटक कार्यविधि बनाएर पारदर्शी ढंगले काम गर्ने पर्यत्न भइरहेको बताए ।

Duduwa Tato hawa Bachau Image


नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल,  समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ल लगायतले महासंघ र प्रेस काउन्सिलसंग सम्बन्धित विषयमा सुझाबसंगै जिज्ञासा राखेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष गिरीले कार्यबहाक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा लगाएर स्वागत गरेका थिए भने बाँके शाखाले प्रकाशित गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरेका थिए ।