बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन

नेपालगन्ज १५ साउन : बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१-८२ मा सङ्घ र प्रदेश सरकारका कार्यालयहरुमार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले दिएको जानकारी अनुसार बाँकेमा गत आर्थिक वर्षमा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपैयाँ राजस्व सङ्कलन गरिएको बताए ।

उनले अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपैयाँ राजस्व सङ्कलन भएको जनाउँदै गत आर्थिक वर्षमा तीन अर्ब ६ करोड एक लाख ९४ हजार ३७२ रुपैयाँले वृद्धि भई २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपैयाँ राजस्व सङ्कलन भएको बताए । 

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लामा राजस्व सङ्कलन गर्ने कार्यालयहरु मध्ये सबैभन्दा बढी राजस्व नेपालगन्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ । सो कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले डिजेल आयातबाट मात्रै छ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नेपालगन्ज भन्सारलेले आव २०८०-८१ मा १८ अर्ब १५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

बाँके जिल्लामा दोस्रो सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय आन्तरिक राजस्व कार्यालय रहेको जनाउँदै कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीले सो कार्यालयले गत आवमा आठ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपैयाँ सङ्कलन गरेको बताए ।

सो कार्यालयले अघिल्लो आव २०८०-८१ मा सात अर्ब ६९ करोड ६२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

Duduwa Tato hawa Bachau Image

जिल्लामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्दै आएका नेपालगन्ज भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय दुबैको राजस्व सङ्कलनमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

भन्सार कार्यालयले गत आवमा राजस्व सङ्कलनमा दुई अर्बभन्दा बढी वृद्धि गरेको छ भने आन्तरिक राजस्व कार्यालयले गत आवमा अघिल्लो आवको तुलनामा ७४ करोडभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।