अत्याधुनिक सुविधासम्पन्न ‘सिने रोयल’मा दर्शक आकर्षित

अत्याधुनिक सुविधासम्पन्न ‘सिने रोयल’मा दर्शक आकर्षित

नेपालगन्ज १३ साउन : नेपालगन्जमा अत्याधुनिक सुविधासम्पन्न सिनेमा थिएटर निर्माण भएपछि दर्शक फेरि एकपटक सिनेमा हलतर्फ आकर्षित भएका छन् । 

केही वर्षअघि सञ्चालनमा रहेका पुराना सिनेमा हलमा दर्शक जान छाडेपछि ती सिनेमा हल बन्द गरिएका थिए । नयाँ प्रविधिका साथ अत्याधुनिक चलचित्र भवन निर्माण गरिएपछि फेरि दर्शक सिनेमा हलतर्फ ओइरिएका हुन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

नेपालगन्जमा निर्माण गरिएको अत्याधुनिक चलचित्र भवन ‘सिने रोयल’ ठुलो सङ्ख्यामा दर्शक तान्न सफल भएको छ । यस हलमा सिनेमा हेर्न भारतीय दर्शक पनि ठुलो सङ्ख्यामा आएका छन् । ‘सिने रोयल’ को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यसका प्रबन्ध निर्देशक डा. राहुल थापाले दुई वर्षको अवधिमा पाँच लाखभन्दा बढी दर्शकले सिनेमा हेरेको जनाउँदै नेपाली सिनेमा हेर्नेहरू सबैभन्दा बढी रहेका बताए ।

सो अवधिमा २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आएका ‘सिने रोयल’ ले जनाएको छ । यस अवधिमा नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ३८ हजार ४६२ जनाले हेरेर सर्वाधिक कमाउने नेपाली चलचित्र बन्यो भने ३१ हजार ९७ दर्शकले हेरेको ‘पुष्पा–२’ सर्वाधिक हेरिएको हिन्दी सिनेमा रूपमा दर्ज भयो । ठुलो लगानीमा निर्माण गरिएको अत्याधुनिक सिनेमा हलकै कारण दर्शक पुनः सिनेमा हलमा ओइरिएको दाबी उनको थियो ।

Duduwa Tato hawa Bachau Image

प्रबन्ध निर्देशक डा. थापाले इन्टरनेट र मोबाइलका कारण सिनेमाप्रति दर्शकको रुचि घट्दै गएका बेला अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको सिने रोयल चलचित्र भवनले फेरि दर्शकलाई सिनेमा हलमा तान्न सफल भएको बताए ।

हिन्दी सिनेमाको बोलवाला रहेको नेपालगन्ज क्षेत्रमा पछिल्लो समय नेपाली सिनेमाले बजार उछिनेर कीर्तिमान कायम गरेको छ । नेपाली फिल्म ‘परदेशी’, ‘घरज्वाइँ’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘ऊनको स्वेटर’ र ‘अन्जिला’ ले हलमा ५१ दिनभन्दा बढी चल्ने सिनेमाको कीर्तिमान कायम गरेका थिए ।

प्रबन्ध निर्देशक डा. थापाले नेपालगन्जको ‘ब्राण्ड’ बनेको ‘सिने रोयल’ लाई काठमाडौँ, पोखरालगायतका सहरमा पनि विस्तार गर्ने योजना रहेको बताए ।