६३९ प्रतिवादी पक्राउ पर्दा ४ करोडको अवैध सामग्री बरामद

६३९ प्रतिवादी पक्राउ पर्दा ४ करोडको अवैध सामग्री बरामद

File Photo

नेपालगन्ज ४ साउन : जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा एक वर्षको अवधिमा ६ सय ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुबाट १ सय ८९ वर्ष ८ महिना १ दिन कैद र  २ करोड १८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिमसम्ममा प्रहरीको कारबाहीमा ४ करोड ३ लाख ८३ हजार ३४४ रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको अबैध सामग्री बरामद गरिएको छ । उक्त अवधिमा अवैध सामग्री ओसारपसारमा संलग्न रहेका ६ वटा जिप–कार, १० मोटरसाइकल र २१ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको डीएसपी पातलीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको अपरेशनमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका ६ सय ५० थान र २ सय भारतीय रुपैयाँ दरका ३१६ थान गरी ३ लाख ८८ हजार २ सय भारतीय रुपैयाँ (६ लाख २१ हजार १२० नेपाली रुपैयाँ) बरामद गर्दै आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

डीएसपी पातलीका अनुसार आ.व.२०८१–०८२ मा भारतबाट अबैध रुपमा ल्याइएका करीब १३ लाख ५१ हजार ४४५ रुपैयाँ मूल्य बराबरको बोइलर कुखुराका चल्ला, मासु र कुखुरा बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय पठाइएको छ भने सोही अवधिमा अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसिबी, १० वटा टिपर र १४ वटा ट्याक्टरलाई नियन्त्रणमा  लिएर १ लाख ८७ हजार जरिवाना गरिएको हो । 

त्यसैगरी आ.व.०८१–०८२ मा बाँकेभर ट्राफिक कारवाहीतर्फ ३७ हजार ४३५ वटा सावरी साधनलाई कारवाही गरी ३ करोड २ लाख ६४ हजार ५ सय रुपैयाँ  राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

एक वर्षको अवधिमा बाँके प्रहरीको अपराध अनुसन्धान तथा कारवाहीमा १४ सय ८६ मुद्दा दर्ता हुँदा १४ सय ५० जनालाई पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए । 

उक्त अवधिमा २ सय २७ पेण्डिङमा रहेका  मुद्दाहरुलाई समेत फछ्र्यौट गरिएको छ भने बाँके प्रहरीमा ठाडो उजुरी ६४ सय १२ वटा प्राप्त भएकामा ५७ सय ३४ फछ्र्यौट हुँदा ९ सय ७८ वटा बाँकी निबेदन फछ्र्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र मातहतका कार्यालयहरुले लागुऔषध ओसारपसारबिरुद्ध गरेको कारबाहीमा ३ किलो ४ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर, ८ किलो २२४ ग्राम चरेश, ७ लिटर ३ सय मिलिलिटर कोरेक्स, ३६ सय १३ नाइट्राजेपाम ट्याब्लेट, ट्रामाडोल ५३४८ ट्याब्लेट, १ सय १३ किलो ५२० ग्राम गाँजासहित २९८ जना पक्राउ पक्राउ गरेर कानुनी दायरामा ल्याइएको छ । त्यस अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरबाट हराएका ४० वटा मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकल, ११६ थान मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

बाँके प्रहरीको हुण्डी र अवैध सुन–चाँदी कारोबार विरुद्धको कारबाहीमा २०८१ भदौ १० गते ४ सय ७ ग्राम सुन, १० किलो किलो ६१३ ग्राम चाँदीसहित ४ जनालाई पक्राउ गर्दा ४० लाख १० हजार २५५ नेपाली र ५९ हजार ५ सय भारतीय रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी पातलीले बताए । 

बाँके प्रहरीका अनुसार जघन्य अपराधतर्फको कारबाहीमा गत असोज २७ र २८ गते नाबालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई पक्राउ गरिएको थियो भने २०८१ असोज २७ एक पुरुषको घाँटी रेटेर टाउको लुकाएर फरार रहेका आरोपीलाई ४८ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याइएको थियो । त्यसैगरी नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न रहेका  ७ जनालाई पक्राउ गरिएको छ ।

डीएसपी पातलीले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिकाको एक गाउँमा बिवाह कार्यक्रममा एक युवकको हत्या गर्ने ६ जनालाई पक्राउ गरिएको थियो भने नेपालगन्जका इरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने २ जना र बैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै १ करोड २३ लाख रकम ठगी गर्ने महिलालाई पक्राउ गरी कानुनी  दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त अवधिमा बाँके प्रहरीले सवारी दुर्घटनामा फरार रहेका एक जनालाई पक्राउ गर्दै कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको छ । साथै सामाजिक संजाल प्रयोग गरी भारतीय ग्याङ्गस्टारको नाम लिएर फिरौती माग्ने एक जनालाई पक्राउ गरिएको र ढुङ्गा र मुक्काले टाउकोमा हानेर  हत्या गरेको आरोपमा एक युवक र पूर्व रिसिबी लिएर हत्या गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

आर्थिक वर्ष ०८१–०८२ को अन्तिममा बाँके प्रहरीले भारतबाट लुटपाट गरेर फर्किएका ६ जनालाई कोहलपुरबाट पक्राउ गरेको डीएसपी पातलीले बताए । त्यसैगरी महिला तथा बालबालिका सम्बन्धि अपराध अनुसन्धान तथा कारवाहीतर्फ दर्ता भएका १४६ मुद्दामा १ सय १९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । 

घरेलु हिंसा सम्बन्धिका ५ सय ७७ वटा उजुरीमा ५ सय ७५ वटा फछ्र्यौट हुँदा बाँकी अनुसन्धान प्रक्रियामा रहेको रहेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । यस्तै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धि ५ सय ५५ वटा निबेदनमा ५ सय १४ जना फेला पारेर परिवारको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको तथा अलपत्र अवस्थामा २ सय ४९ जना महिला बालबालिका तथा जेष्ठ नागरिकलाई फेला पारी उद्दार गरिएकोमा ९४ जनालाई संरक्षणको लागि संस्थामा पठाइएको छ । उक्त अवधिमा प्रहरीले सीमा नाकाबाट ९ सय ७ जना महिला तथा बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्दार गरेको डीएसपी पातलीले बताए । 

Duduwa Tato hawa Bachau Image

बाँके प्रहरीको समुदाय प्रहरी सहकार्यतर्फ मातहतसहित गरी १ हजार ९४ पटक सचेतनामूलक कार्यक्रम मध्ये लागुऔषध सम्बन्धि सचेतना, साइबर अपराध सचेतना, मानव बेचबिखन सम्बन्धि, आत्महत्या सम्बन्धि, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो भने ट्राफिक सचेतनातर्फ २६ सय २४ सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

त्यसैगरी बाँके प्रहरीको आन्तरिक सुदृढीकरण प्रयासतर्फ आपतकालिन कार्यालय सुरक्षा (स्ट्याण्ड टु) को अभ्यास गराइएको र यसअघिका आर्थिक वर्ष २०८१–०८२ मै रहेर बाँके प्रहरी प्रमुखका रूपमा कार्य गरेका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, सेवाग्राहीसँग ब्यवहार, सामाजिक सञ्जालको प्रयोग लगायतका बिषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

साथै त्यसअवधिमा पूर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङरोगन, कार्यालय परिसर मर्मत तथा लाइट जडान लगायत सौन्दर्याकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार गरिएको डीएसपी पातलीले जानकारी दिए । 

त्यसैगरी नेपाल प्रहरी कार्य सम्पादन सम्झौता बमोजिम जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा सशस्त्र प्रहरी बल ३० नं. गणको सहकार्यकमा संयुक्त भिड नियन्त्रण अभ्यास गरिएको थियो भने चार्डपर्व लक्षित सुरक्षा योजना बमोजिम तालिम प्रप्त कुकुरहरुद्वारा बसपार्क, बिमानस्थल र जमुनाहा नाकामा समय समयमा चेकजाँच गरिएको थियो । सो अवधिमा जिल्लाभरमा उत्कृष्ट कार्य गर्ने ९३ जना प्रहरी कर्मचारीहरुलाई तीन पुस्तेमा जनिने गरी पुरस्कृत गर्दै आचरण बिपरित कार्य गरेका ११ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन “२०८१” मा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषणा भई प्रहरी महानिरीक्षकबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।