आईतबारदेखि भारी वर्षाको प्रक्षेपण

आईतबारदेखि भारी वर्षाको प्रक्षेपण

नेपालगन्ज २ साउन : जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि नेपालमा भारी वर्षा शुरु हुने पूर्वानुमान गरेको छ ।

यतिबेला भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज र भोलि(शुक्रबार र शनिबार) दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि पर्सि(आईतबार)देखि मनसुन सक्रिय हुने सम्भावना छ । पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद् अधिकारीका अनुसार भारतको उत्तर प्रदेश आसपास भएको जुन न्यूनचापीय रेखा छ, अलि माथितिर (नेपालतिर) आउने देखिन्छ, त्यसले गर्दा वर्षा बढ्ने छ ।

Duduwa Tato hawa Bachau Image

यसअघि बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सरिरहेको थियो । त्यसको प्रभावले सुक्खाको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा पनि राम्रै वर्षा गराउने पूर्वानुमान गरिएको थियो । तर, त्यो प्रणाली मध्य बिहार हुँदै भारतको इलाहाबादतर्फ गएको थियो ।

अहिलेको नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान मौसमविदले गरेका छन् । उनले थपे, ‘अहिलेसम्मको अवस्था हेर्दा शनिबार रातिदेखि वर्षा हुने र आईतबारदेखि सोमबारसम्म भारी वर्षा हुनसक्ने भनेका छौं, त्यसलाई अध्यावधिक गर्दै जानेछौं ।’