सशस्त्र प्रहरीद्वारा ६ महिनामै पाँच करोडको अवैध सामान बरामद
- | अर्थ | नेपाखबर | अपराध–घटना
- २ साउन २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १ साउन : सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले छ महिनामा करिब पाँच करोड बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ ।
चाड पर्व नजिकिएसँगै अवैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले छ महिनामा चार करोड ९० लाख ९ हजार २८३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले बताए ।
सरकारले निर्धारण गरेको सामान भन्दा बढी सामान ल्याउने माथि समेत निगरानी गरिरहेको सशस्त्र प्रहरी एसपी खनालले बताए । उनले सशस्त्र प्रहरीले नाकामा सरकारको नीति पालना गरेको जनाउँदै एक सय रुपैयाँ भन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने नियमलाई कडाईका साथ पालना गरिएको बताए ।
उनले असार महिनामा एक करोड आठ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको जानकारी दिए । एसपी खनालले लुम्बिनी प्रदेश सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरको निर्देशनमा बाँके जिल्लामा मातहतका सबै युनिटमा कडाई गरिएको बताए ।
सशस्त्र प्रहरीले नाकामा कडाई गरेपछि अवैध आयात गर्ने त्रसित भएका छन् । प्रहरीले कडाई गरेपछि काम ठप्प भएको उनीहरूको भनाइ छ ।





0 Comments