बाँकेमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान तीव्र

कति छन् बाँकेमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी
बाँकेमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान तीव्र

नेपालगन्ज २४ असार : भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । 

गत वैशाख २० गते कोहलपुर नगरपालिका–१ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेर अभियान शुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नम्बर १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ । 

आयोगले शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर–१ कै ६३४ जना अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको छ । आयोगले एक साताभित्र तोकिएको राजस्व बैङ्कमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो । 

आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका वडा नम्बर १ का थप ६३४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्त गर्नका लागि राजस्व जम्मा गर्न सूचना जारी गरिएको जानकारी दिए ।

“वडा नम्बर १ मा केही दिनअघि ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेका छौँ, सोही वडाका थप ६३४ जनाले नियमानुसार राजस्व जम्मा गरेर आएपछि उहाँहरूलाई पनि तत्काल लालपुर्जा वितरण गर्छौं,” उनले भने, “सोही वडाका थप एक हजार एक जना अव्यवस्थित बसोबासीका लागि राजस्व जम्मा गर्न आइतबार सूचना प्रकाशित गर्दै छौँ, यो महिनाभित्र करिब तीन हजार सात सय भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्नका लागि सूचना प्रकाशित गर्ने योजना बनाएका छौँ ।”

अध्यक्ष खनालका अनुसार राप्तीसोनारी–४ का करिब एक हजार चार सय भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी र खजुराका ३३ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई राजस्व जम्मा गर्नका लागि आइतबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । उनले भने, “राजस्व जम्मा गरेर आउनुहुने भूमिहीन र अव्यवस्थित नागरिकलाई तीव्र रूपमा लालपुर्जा वितरण कार्य अगाडि बढाइरहेका छौँ, जतिसक्दो छिटो सबैलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेका छौँ ।” 

आयोगले छुटपुट भएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि दोस्रो चरणको ३५ दिने सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गर्ने कार्य पनि शुरु गरेको छ । अध्यक्ष खनालले जिल्लाका बैजनाथ र खजुरा गाउँपालिकाबाट छुटपुट भएका भूमिहीन नागरिकले दोस्रो चरणको सूचना अनुसार नयाँ आवेदन सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

कति छन् बाँकेमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी

बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुमवासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोबासीको सङ्ख्या ४३ हजार २२६ रहेका छन् ।

बाँकेका आठ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । 

आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फाराम दर्ता भएका छन् ।