भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

नेपालगन्ज २४ असार : नेपाल–चीन सीमास्थित रसुवाको ल्हेन्दे खोलाबाट आएको बाढीले भोटेकोसीमा ठूलो प्रभाव पारेको छ, तर आश्चर्यजनक रूपमा दुवै देशमा भारी वर्षा नभएको जल तथा मौसम विज्ञान विभागको भनाइ छ। 

विभागका अनुसार बाढीको स्रोतबारे अझै अनुसन्धान भइरहेको छ भने प्रारम्भिक आकलन अनुसार कुनै हिमताल फुटेको आशंका गरिएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टामा रसुवाको क्यान्जिङ र धुन्चे केन्द्रमा खासै वर्षा नभएको स्पष्ट पारे। ‘न वर्षा भयो, न न्यूनचापीय रेखामा परिवर्तन आएको छ,’ अधिकारीले भने ।, ‘बाढीको कारण पहिचान गर्न अझै अनुसन्धान भइरहेको छ।’

विश्व मौसम संगठनले विकास गरेको फ्ल्यास फ्लड गाइडेन्स प्रणालीले पनि गत २४ घण्टामा भोटेकोसी जलाधार क्षेत्रमा उल्लेख्य वर्षा नदेखाएको पुष्टि गरेको छ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

हिमताल फुटेको शंका

बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार यो बाढी हिमताल फुटेर आएको हुन सक्ने सम्भावना बलियो छ। ‘ठूलो वर्षा नहुँदा पनि एक्कासि बाढी आउनु भनेको, सम्भवतः चीन वा नेपालको क्षेत्रमा रहेको हिमताल फुटेको संकेत हुन सक्छ,’ उनले भने।

मध्यरातमै बाढी प्रवेश

महाशाखाले मंगलबार बिहानै बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसअनुसार, भोटेकोसीमा मंगलबार बिहान ३ बजे तिब्बतबाट बाढी प्रवेश गरेको देखिएको हो। रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन तथ्याङ्क अनुसार ३ः१० बजे जलसतह करिब ३.५ मिटरले बढेको देखिएको छ।

स्याफ्रुबेँसी जलमापन केन्द्रमा मंगलबार बिहान ३ः३० बजे ३.६५ मिटर पुगेको सतह ३ः४० मा एक्कासि ५.३७ मिटर पुगेर सम्पर्क नै बन्द भएको थियो। पछि केन्द्र बगाएको पुष्टि गेजरिडरमार्फत भएको विभागले जनाएको छ।

Duduwa Tato hawa Bachau Image

त्यसको झण्डै दुई घण्टा पछि, बिहान ५ बजे, नुवाकोटको त्रिशूली वेत्रावती केन्द्रमा बाढी पुगेको थियो। ५ः१० मा जलसतह १.६० मिटरबाट ३.६३ मिटर पुग्यो भने ५ः५० मा उच्चतम ४.१८ मिटर पुगेको थियो।

त्रिशूली, भोटेकोसी र बूढीगण्डकी नदी किनारका तीन जिल्लामा विशेष सतर्कता जारी गरिएको छ। विभागले एसएमएसमार्फत बिहान ६ः३० बजे सतर्कता सन्देश पनि पठाएको थियो।

बाढीविद् पराजुलीका अनुसार अहिले बहाव घट्दो क्रममा रहे पनि जोखिम कायमै छ। ‘रसुवागढीदेखि बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता जरुरी छ,’ उनले भने।

बाढीको सम्भावित स्रोत पत्ता लगाउन विभागले ‘सेन्टिनल एसिया’ नामक अन्तरिक्ष–आधारित आपतकालीन प्लेटफर्ममार्फत उपग्रह तस्बिर माग गरेको छ।

१८ जना अझै बेपत्ता

बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता भएका छन्, जसमा ९ जना नेपाली मजदुर, ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिक छन्। रसुवागढी नाकास्थित भन्सार यार्ड, प्रहरी चौकी टिमुरे र सडकखण्डहरू बाढीबाट क्षतिग्रस्त भएका छन्। नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको पुष्टि भएको छ।

बेपत्ता हुनेमा रामेछाप, बारा, बझाङ, बर्दिया, बागलुङ र सिन्धुपाल्चोकका नागरिक छन्। साथै, त्रिशूली थ्रिए जलविद्युत् आयोजना र बेलीब्रिजमा पनि क्षति पुगेको छ।

यद्यपि विभागले तत्कालीन रूपमा अबको तीन दिनसम्म कुनै बाढीको जोखिम नरहेको बताएको छ। मौसमविद् अधिकारी र बाढीविद् पराजुलीले देशभर हल्कादेखि मध्यम वर्षा भए पनि भारी वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। -रासस