नेपालगञ्जमा मोहर्रमको रौनक : ताजियाले सजिएको सहर

नेपालगञ्जमा मोहर्रमको रौनक : ताजियाले सजिएको सहर

नेपालगन्ज २२ असार : मुसलमान समुदायको मोहर्रम पर्वको अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगन्ज ताजियामय भएको छ ।

मुसलमान समुदायका व्यक्तिहरूले पर्वको अवसरमा आफ्नो गच्छेअनुसार ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनामा मोहर्रम पर्वको अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताए ।

उनका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौं दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया दशौं दिनमा कर्बलामा विसर्जन गर्छन् । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाइन्छ ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलाहरूमा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू र अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ। उनले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि र मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।  

Duduwa Tato hawa Bachau Image

अग्लो ताजियाको होडबाजी

नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामु मार्ग निवासी चाँदबाबु राहीले यो वर्ष ७० फिट उचाइको ताजिया स्थापना गरेका छन् । मोहर्रम पर्वको अवसरमा राहीले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् । भारतको बहराइच जिल्लास्थित आलीनगरबाट यो वर्ष रु एक लाखमा खरिद गरेर ल्याएको ताजिया बाँके जिल्लामा सबैभन्दा अग्लो रहेको उनको दाबी छ ।

मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर आफ्नो टोलमा प्रत्येक वर्ष अग्लो ताजिया राख्ने गरेका छन् । ताजिया खरिदका लागि प्रत्येक महिना आफ्नो आम्दानीबाट रकम छुट्याएर बचत गर्ने गरेको उनको भनाइ छ ।

‘मेरो मनको खुसी र श्रद्धाका लागि मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु,’ राहीले भने, ‘यो वर्ष ७० फिटको उचाइको यो बाँके जिल्लामा सबैभन्दा ठूलो ताजिया हो ।’ चार महिना अगाडि नै राहीले ताजिया निर्माणका लागि ‘अर्डर’ गरेका थिए । चारवटा ट्रयाक्टरको ट्रलीमा भारतको बहराइचबाट ल्याएको ताजियालाई गए राति घर अगाडि स्थापना गरेको उनले जानकारी दिए ।

विगत आठ वर्षदेखि राहीले आफ्नै लगानीमा जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्दै आएको उनको छिमेकी मोहम्मद जुनेद राहीले बताए । बाँकेमा मात्र रु एक करोडभन्दा बढीका ताजिया राखिएको राहीको अनुमान छ । -रासस