सिचाई सुविधा पुगेपछि समयमै रोपाई
File Photo
बाँके (कुसुम) २१ असारः गाउँमा सिचाई सुविधा पुगेपछि राप्ती सोनारी–गाउँपालिका वडा नम्बर–१ स्थित कुसुम, बैरिया घारीटोलका किसानले यसवर्ष समयमै रोपाई गर्न पाएका छन् ।
नजिकैबाट राप्ती नदी बगेपनि उक्त गाउँका किसानहरु सिंचाई सुविधाबाट बञ्चित हुनु परेको थियो । स्थानीय सरकारले उपलब्ध गराएको भूमिगत सिंचाई सुविधाले यसवर्ष बैरियाका किसानले समयमै धान रोपाई गर्न पाएको वडा नम्बर– १ का वडाअध्यक्ष यमबहादुर खड्काले बताए ।
‘गतवर्ष हामीले यो गाउँमा स्यालो ट्वीबेल गाडेका थियौं, यसवर्ष मोटर जोडेपछि किसानलाई खेती गर्न सजिलो भयो,’ उनले भने । भूमिगत सिचाई प्रणालीमार्फत जमिन मूनिको पानी मोटरले तानेर किसानका खेत–खेतमा पुर्याएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको वडाअध्यक्ष खड्का बताउँछन् ।
उनका अनुसार १ नम्बर वडा कार्यालय, राप्ती सोनारी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समेत गरी कुल ९५ लाख रुपैयाँमा गतवर्ष टेण्डर भएको थियो । उक्त बजेटमध्ये २५ लाख रुपैयाँ प्रदेशले हालेको थियो, भने बाँकी बजेट स्थानीय सरकारको थियो । सोही बजेटबाट वडा नम्बर १ का विभिन्न गाउँ तथा टोलमा १३ वटा स्यालो ट्युबेल गाडिएको थियो ।
वडाअध्यक्ष खड्काका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा वडा र गाउँपालिकाको ६८ लाख रुपैयाँको लागतमा २३ वटा स्यालो ट्युबेल गाडिएको छ । यि मध्ये १७ वटा हातले र ६ वटा मेसिनले गाडिएको वडाअध्यक्ष खड्काले बताएका छन् । पानीको सतह घट्दै गएकाले प्रायः स्यालो ट्युबेल ५४ देखी ६६ मिटर गहिरो गाडिएको छ ।





0 Comments