नेपालगन्जका सडक र चोकमा फेरि बढ्दै छाडा पशुचौपाया
File Photo
- | नेपाखबर | अपराध–घटना
- २१ असार २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज २१ असार : नेपालगन्जका विभिन्न मुख्य सडक र चोकहरुमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको उपस्थिति बढ्दै गएको हो ।
छाडा चौपायाकै कारण सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्ने सर्वसाधारणलाई समस्या भइरहेको छ । केही समय सडकमा कम देखिएका छाडा चौपाया वर्षा सुरु हुने वित्तिकै फेरि सडक चोकमा जताततै देखिन थालेको स्थानीयले जनाएका छन् ।
मुख्य सडक र चोकहरूमा छाडा चौपायाको उपस्थितिले बेला बेलामा दुर्घटनाहरू समेत हुने गरेकाले सडकमा बाइक र गाडी गुडाउन समेत डर लाग्ने गरेको स्थानीय सामाजिक अगुवा हेमन्तराज काफ्लेले बताए ।
उनले सो समस्याप्रति पटक–पटक आवाज उठाइए पनि समस्या समाधान नभएको र बजारका सडकमा छाडा चौपाया झन् बढेको गुनासो गरे ।
उपमहानगरका मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा खच्चर, गाई र गोरु भेटिने गरेको नागरिक समाजका अर्का अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले छाडा चौपाया नियन्त्रणका लागि स्थायी समाधान खोज्न स्थानीय सरकारसँग अनुरोध गर्दै कहिलेसम्म अवस्था यस्तै रहने भन्ने प्रश्न पनि गरे ।
घोडा, खच्चर र गाई गोरु जस्ता चौपाया पाल्नेहरूले नै ती चौपायालाई खुला छोडिदिने गरेकै कारण उनिहरू सडक र चोकहरूमा जताततै भेटिने गरेका छन् ।
बजारका पसल र घरका अगाडि ती जनावरले दिसा गरेर फोहर गर्दा व्यवसायमा पनि प्रभाव परेको सदरलाइनका व्यवसायी चुन्ना राईले बताए । उनले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह गरे ।
नेपालगन्जमा छाडा चौपाया राख्नका लागि काञ्जि हाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैैन । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न स्थायी समाधान खोज्ने प्रयासहरू भइरहेको जनाउँदै आएको छ तर, पनि समस्या ज्युँ का त्यु नै रहेको छ ।





0 Comments