नेपाली सेनाको परिचयपत्र बोकेर लागुऔषध कारोबार

नेपाली सेनाको परिचयपत्र बोकेर लागुऔषध कारोबार

नेपालगन्ज २० असारः बाँकेमा पछिल्लो पटक नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्राम भन्दा बढी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका वडा २ घर भएर नेपाली सेनामा कार्यरत रहेको परिचयपत्र राखेका २६ वर्षीय सञ्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको बताए ।

उनले पक्राउ परेका आलेको परिचयपत्र नक्कली हो कि सक्कली हो सो बारेमा समेत अनुसन्धान भइरहेको बताए । नेपाली सेनाको परिचयपत्र बोकेका आलेलाई बैजनाथ गाउँपालिकास्थित उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सन्जुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार सन्जुको घरमा लागु औषध लुकाइएको विशेष सूचनाका आधारमा खटिएको टोलीले जाँच गर्ने क्रममा घरभित्र रहेको जाँडको ड्रम भित्र लुकाइ छिपाइ राखेको अवस्थामा चेकजाँच गर्ने क्रममा १० ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । 

Duduwa Tato hawa Bachau Image

पक्राउ परेका आलेलाई थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताए । 

पछिल्लो समय ब्राउन सुगर लगायतका कडा लागु औषधको प्रयोग र कारोबार गाउँ–गाउँसम्म विस्तार हुँदै गएकाले प्रहरी सतर्क रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

लागु औषध ओसारपसार, सेवन र बिक्री वितिरणविरुद्ध प्रहरीले बाँकेमा कडा अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले बताए । उनले प्रहरीको कडाइका बावजुद केहीले ओसारपसार गरिरहेको पाइएकोले सो पनि नियन्त्रण गरिने बताए ।