गाउँमै उच्च अध्ययनको अवसर पाएपछि नरैनापुरका विद्यार्थी उत्साहित
नेपालगन्ज १४ असार : बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत कृषिको बाली विज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ शुरु भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोक्ने अवस्था आएको बताउने नरैनापुर–६ का दुर्गेश कुमार मौर्य भन्छन्, “पालिकाले गाउँमै प्राविधिक शिक्षा सुरु गरेपछि भविष्यप्रति आशा पलाएको छ ।” खेतीपातीमा आधारित परिवारमा हुर्किएका मौर्यले विद्यालयमा सिकेका कुरा घरमा अभिभावकलाई पनि सिकाउँदै आएका छन् ।
पहिले कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालयमा अब कक्षा १२ सम्मको प्राविधिक शिक्षाको व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको पहलमा “जयकिसान नरैनापुर की शान, मेरी जान” भन्ने नारासहित कृषि शिक्षाको सुरुवात गरिएको हो ।
कक्षा १२ मा अध्ययनरत अनिस हलवाईले गाउँमै बसेर उच्चस्तरीय शिक्षा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे । शिक्षिका उषा विकका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा बाली विज्ञान विषय शुरु गरेपछि विद्यार्थीहरूको आकर्षण बढेको छ ।
नरैनापुर र राप्तीसोनारीका ग्रामीण क्षेत्रका विद्यार्थीलाई टाढा जान नपर्ने, पढाइ बीचमै नछाड्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले कृषि प्राविधिक उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको बताए । शिक्षा शाखा प्रमुख कृष्ण थारुका अनुसार प्रारम्भमा ३६ विद्यार्थीबाट शुरु भएको कक्षा अहिले ६० जनालाई पुगेको छ ।
हाल नरैनापुरमा २१ सामुदायिक, २६ मदरसा र ३ संस्थागत विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका उपप्रमुख कमल केसीका अनुसार विद्यालयमा सिकेका व्यवहारिक कृषि सिपले विद्यार्थीहरू आफ्ना अभिभावकलाई कम्पोस्ट मल, विषादी बनाउने जस्ता सीपमा तालिम दिन सफल भएका छन् ।
पालिकामा हाल एक वटा विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालनमा रहेको छ भने अधिकांश विद्यालयहरू प्रारम्भिक र माध्यमिक तहसम्म सीमित छन् ।





0 Comments