नेपालगन्जमा लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी

नेपालगन्जमा लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी

नेपालगन्ज १२ असार : “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ नेपालगन्जमा ३८ औं लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपालगन्जमा बिहीबार आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घ सस्था, समाजसेवी, मिडियाकर्मीलगायतको उपस्थिति थियो । सो प्रभातफेरी जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट शुरु भएको थियो भने भेरी प्राविधिक शिक्षालयमा समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको जिल्ला भएकोले यहाँ लागु औषध भित्रिने तथा कारोबार हुने चुनौती देखिएको जनाउँदै सो रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घसंस्थाले एकजुट भएर यो गम्भीर लतबाट युवा पुस्तालाई जोगाउन एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद घर्तिमगरले लागु औषधविरुद्ध प्रहरीले अभियाननै सञ्चालन गरेर नाकादेखि कोहलपुरसम्म कडाइ गर्नुका साथै नियन्त्रणका उपायहरु अपनाइरहेको बताए ।

Duduwa Tato hawa Bachau Image

पछिल्लो समयमा खुला सिमानाको फाइदा उठाएर नाका पारीबाट लागु औषध भित्रयाउने कार्यमा धेरै जना सक्रिय रहेको पाइएको छ । सीमापारि भारतको रुपैडिहामा खुला रुपमा लागु औषध विक्री हुने गरेकोले पनि नेपालगन्ज र जिल्लाका अन्य स्थानबाट रुपैडिहा पुगेर सेवन गर्ने तथा खरिद गरेर ल्याउनेहरु बढ्दै गएको पाइएको छ । 

प्रहरीले जमुनाहा नाकादेखि नेपालगन्ज र कोहलपुरलगायत अन्य ग्रामीण क्षेत्रहरुबाट लागु औषधसहित दैनिकजसो मानिसलाई नियन्त्रणमा लिंदै आए पनि ओसारपसार र सेवन गर्ने कार्य रोकिएको छैन ।