नेपालगन्जले ल्यायो एक अर्ब ६४ करोडको बजेट

नेपालगन्जले ल्यायो एक अर्ब ६४ करोडको बजेट

नेपालगन्ज १० असार : नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को लागि एक अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

आज नगरसभाको १७औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटमा वडा कार्यालयको हकमा २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ सिलिङ उपलब्ध गराइएको छ । यस्तै चालू खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँ छुट्ट्याइएको छ । आम्दानीतर्फ वित्तीय समानीकरण सङ्घबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख प्रक्षेपण गरिएको छ । 

त्यसअघि नगर सभाको १७औँ अधिवेशनमा सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग ब्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, गड्यौला मलको प्रयोग प्रवद्र्धन गर्ने, जडीबुटी खेतीलाई प्रवद्र्धन गर्ने, पशुजन्य सङ्क्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरू लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको व्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यावसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, ज्येष्ठ नागरिकका लागि घरघरमा गई निःशुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय छन् ।

Duduwa Tato hawa Bachau Image

यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ्ग रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पास समेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, सञ्चार क्षेत्र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् । 

नगर अधिवेशनमा नगरसभा सदस्य एवम् नगर प्रवक्ता प्रमोद रिजाल, नगरसभा सदस्य एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राज कुमार साहु, नगरसभा सदस्य एवम् वडा नम्बर १८ का वडा अध्यक्ष दीपक कुमार बर्मा, नगरसभा सदस्य एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नगरसभा सदस्य एवम् वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेख, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नगरसभा सदस्य एवम् वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले गरेका थिए ।