कोहलपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
राप्ती सोनारी गाउँपालिकाले असार १० गते गाउँसभा गर्दै
नेपालगन्ज ७ असार : बाँकेको कोहलपुर नगरपालिकाले शनिबार आगामी वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२-०८३ का लागि १७औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा महत्वपूर्ण नीतिहरू समावेश गरिएको नगरपालिकाले जनाएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने उल्लेख छ । पछिल्लो समयमा महिलामा पाठेघरको मुखमा हुने क्यान्सरले बिकराल रूप लिँदै गएको छ ।
संघ र प्रदेश सरकारले पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । महिलाहरूमा बढ्दो पाठेघरको क्यान्सर रोकथामका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमसँगै परीक्षणका कार्यक्रमहरू पनि प्रभावकारी ढंगले सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख आचार्यले बताए ।
नगरपालिकाले नसर्ने रोगको बढ्दो प्रभाव र पहिचान तथा रोकथामका लागि पनि समुदायस्तरमा शिविर सञ्चालन गर्ने नीति लिएको छ । उक्त शिविरलाई थप प्रभावकारी गराउन कोष स्थापना गरिने भएको छ । नगरपालिकाले नगरको समग्र विकासका लागि अन्य महत्वपूर्ण नीतिहरू पनि अवलम्बन गरिएको जनाएको छ । शनिबारबाट शुरु भएको नगर सभा केही दिनसम्म चल्ने छ ।
सभामा नगर उपप्रमुख संगिता सुवेदीले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ का अनुसार सबै स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्छ ।
राप्तीसोनारी गाउँपालिकाले असार १० गते गाउँसभा गर्दै
यसैबीच, राप्तीसोनारी गाउँपालिकाले यही असार १० गते गाउँसभाको १७ औं अधिवेशन गर्ने तयारी गरेको छ ।
सभाका अध्यक्ष तप्तबहादुर पौडेलले लुम्बिनी प्रदेशको गाउँ-नगर सभाको (कार्यसञ्चालन)कार्यविधि ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन असार १० गते मंगलबार दिउँसो १ बजे बस्नेगरी आब्हान गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।
गाउँ सभाको १७ औं अधिवेशनमा उपस्थित हुन सबै सदस्यहरुको गरिमामय उपस्थितीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए ।
गाउँ सभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गाउँपालिका अध्यक्ष पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।





0 Comments