बाँके पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा

बाँके पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा

नेपालगन्ज ५ असारः बाँके जिल्लालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । 

जिल्ला खोप समन्वय समितिको आयोजनामा बिहीवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले जिल्लालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरे ।

उनले संक्रामक रोगबाट बालबालिकालाई जोगाउन खोप अनिवार्य रहेको बताए । उनले खोप अभियानलाई सघाउन अभिभावकहरुको पनि भूमिका हुने बताए ।

निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोप लिन छुटेका ६४६ जना बालबालिकालाई खोप उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिए । उनले जन्मेदेखि १५ महिनासम्मका १२ हजार ९३७ र १६ महिनादेखि २३ महिनासम्मका ९ हजार ५१३ जनालाई नियमित खोप प्राप्त गरेको पनि बताए ।

समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बालबालिकाहरुलाई विभिन्न रोगबाट जोगाउन नियमित खोप महत्वपूर्ण रहेको बताइन् ।

यस्तै प्रदेश सभा सदस्य सुशिला नेपालीले पूर्ण खोप दिगोपनालाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस्तै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याएर शिशु मृत्युदर न्यूनीकरणमा जोड दिइन् ।

Duduwa Tato hawa Bachau Image

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यान्वयनका लागि प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, भेरी अस्पतालला प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।