भेरी अस्पतालमा असारदेखि एमडी पढाइ
- | नेपाखबर | स्वास्थ्य
- ३१ जेठ २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ३० जेठ: नेपालगन्जस्थित भेरी अस्पतालमा आगामी असार महिनादेखि एमडी पढाइ शुरु हुने भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले असार दोस्रो सातादेखि मेडिसिन, सर्जरी, गाईनोक्लोजिष्ट र अर्थोपेडिक विभागमा एमडी पढाइ शुरु हुन लागेको जानकारी दिए ।
मेडिसिन र सर्जरीमा दुई÷दुई जना तथा गाइने र अर्थोमा एक÷एक जना विद्यार्थीले एमडी अध्ययन शुरु गर्नेछन् । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी÷एमएस पढाइका लागि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच यसअघि नै सम्झौता भएर फ्याकेल्टी समेत निर्धारण भइसकेको थियो ।
एमडी÷एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. सुवेदीले बताउनुभयो । उनले भने, ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वाभाविक रूपले यसको स्तर ह्वात्तै माथि उठ्नेछ ।’ भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाइनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी÷एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रस्ताव धेरै अघि गरिएको थियो ।
अस्पतालका अनुसार वर्षौँ अघिदेखि एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रयास भए पनि सार्थकता पाउन सकेको थिएन । तर, अहिले भने चार वटा विषयको पढाइ सञ्चालन गर्न न्याम्सले ६ जना विद्यार्थी भेरीमा पठाउन लागेको छ । यो पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंिशक अस्पतालका रुपमा रहनेछ ।
सङ्घीय सरकारको मातहतमा रहेको अस्पतालमा साविक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमडी÷एमएस विषयको पढाइ सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाइ थप वृद्धि हुने बताए ।
सोही प्रकारले अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले अस्पतालमा नयाँ नयाँ विशेषज्ञ सेवा शुरु गरिएसँगै एमडी÷एमएस विषयको पढाइ शुरु हुन लागेको र सरकारले १७९ जना जनशक्ति थप्ने निर्णय गरेकोमा अब यो अस्पताल यस क्षेत्रकै उत्कृष्ट अस्पताल बन्ने बताए ।





0 Comments