बकर इदको अवसरमा बाँकेका चार स्थानीय तहमा बिदा
- | नेपाखबर
- २६ जेठ २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज २५ जेठ : बाँकेका चार स्थानीय तहले इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा आईतबार सार्वजनिक बिदा दिएका छन् ।
बकर इद शनिबारबाट शुरु भएपनि शनिबार सार्वजनिक बिदा परेकोले बाँकेको नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेर बिदा दिएका हुन् ।
नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले नेपालगन्ज मुस्लिम समुदायको धेरै जनसङ्ख्या भएको उपमहानगर भएको र बकर इद तीन दिनसम्म मनाइने हुँदा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
सोही प्रकारले नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह पनि बकर इद पर्व चलिरहेकोले आइतबार पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले पनि सबै धर्म समुदायले आ–आफ्नो चाडपर्वलाई राम्रोसँग मनाउन पाउन भनेर स्थानीय बिदा दिने गरिएको जनाउँदै सोही बमोजिम आइतबार सार्वजनिक बिदा गरिएको बताए ।
बकर इद तीन दिनसम्म मनाइने पर्व हो। यस वर्षको बकरईदको पहिलो दिन शनिबार परेकोले बिदा आईतबार दिनुपर्ने माग मुस्लिम समुदायबाट जोडदार रूपमा उठेको थियो।
सङ्घीय सरकारले पनि आईतबार सार्वजनिक बिदा दिनुपर्नेमा त्यसो नगरिएकोमा दुःख लागेको मुस्लिम अगुवाहरूले जनाएका छन्।





0 Comments