संविधान र गणतन्त्रमाथि उठेका प्रश्नको जिम्मा काँग्रेसले लिनुपर्छः महामन्त्री थापा

राजा फर्किहाले पनि संवैधानिक भएर बस्दैनन्
संविधान र गणतन्त्रमाथि उठेका प्रश्नको जिम्मा काँग्रेसले लिनुपर्छः महामन्त्री थापा

नेपालगन्ज २० जेठ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र गणतन्त्रमाथि उठेका प्रश्नको जिम्मा काँग्रेसले लिनुपर्ने बताएका छन् । मंगलबार नेपालगन्जमा आयोजित नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को तेस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले ती प्रश्नको जवाफ पनि काँग्रेसले नै दिनुपर्ने बताएका हुन् । 

‘नेपाली काँग्रेस पार्टीले जिम्मेवारी लिएर भन्नुपर्छ–सुशील कोइरालाको नेतृत्वमा एउटा हाइवे नेपालमा बनायौँ । नयाँ बाटो हामीले शुरु ग¥यौँ,’ महामन्त्री थापाले अगाडी भने, ‘त्यो हाइवे सुरु गरेको दिन तपाईँ हामी सबै खुसी थियौँ ।’ 

अहिले त्यो बाटोमा गाडीहरू आए र गाडीहरू चालकले चलाएको बिम्ब दिँदै महामन्त्री थापाले अगाडि थपे, ‘अहिले हामी के देखिरहेका छौँ? गाडीहरू थोत्रो देखिएका छन्, पुरानो देखिएका छन् । गाडीको चालकले गाडी राम्रोसँग कुदाउन सकिरहेको छैन ।’ 

अनि बाहिर बस्ने मान्छेले ‘बाटो नै खराब’ भनिरहेको उनले बताए । ‘काँग्रेसले उनीहरूलाई भन्नुपर्छ–बाटो खराब होइन, यो बाटो नयाँ बाटो हो, यो हामीले रोजेको बाटो हो। बाटोमा चलिरहेका गाडीमा समस्या छ, गाडीभित्र रहेका समस्यालाई हामीले मिलाउनुपर्छ,’ महामन्त्री थापाले भने । 

त्यो गाडी काँग्रेस पनि एक रहेको उनले बताए । ‘गाडीको चालक ठिक ढंगले चलाइरहेको छैन भने बदल्नुपर्छ । चालक नयाँ खोज्नुपर्छ, त्यसले गाडीलाई राम्रो गतिमा लैजान्छ,’ उनले भने, ‘गाडीको चालक बदल्ने कुरा छाडेर, गाडीको मर्मत सम्भार गर्ने कुरा छाडेर हामी बाटै नयाँ खोज्नुपर्छ भन्नेतिर लाग्यौँ भने हाम्रो १० वर्ष गयो फेरी ।’  

यस्तै काँग्रेस महामन्त्री थापाले नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने बताए । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को तेस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा राजाहरुको चरित्र कहिल्यै पनि संवैधानिक बन्न नसकेको तीतो इतिहास साक्षी रहेको बताए । उनले प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई वटा मात्र विकल्प रहेको बताउँदै नौजवानहरुलाई राजसंस्था इतिहासमा कहिल्यै पनि संवैधानिक बन्न नसकेको बुझाउन जरुरी रहेको उल्लेख गरे ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image


महामन्त्री थापाले काँग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी काँग्रेस अघि बढ्न दृढ रहेको बताए । 

“बेला–बेलामा राष्ट्रिय शक्तिको भूमिका कांग्रेसले कुशलतापूर्वक निभाएको छ, त्यो पुष्टि भइसकेको छ,’ महामन्त्री थापाले भने–“देशमा अहिले उकुसमुकुसको अवस्था छ,  यसबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी पनि काँग्रेसको हो । उत्तेजना फैलाउने काम भइरहेको छ, तर काँग्रेस यही व्यवस्थालाई सुदृढ बनाएर अगाडि बढाउन दृढ छ ।’

थापाले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताए । “भुइँ तहमा बसेर काम गर्ने कार्यकर्ता पंक्ति पार्टीको सबैभन्दा ठूलो तागत हो, हामी सबैको हैसियत एउटै हो, सबै मिलेर पार्टी बनाउनुपर्दछ,’ उनले भने । उनले कुनै कारणले पार्टी छोडेर गएकाहरुलाई पुनः काँग्रेसमा फर्केर आउन आह्वान समेत गरेका छन् । 

Duduwa Tato hawa Bachau Image

महामन्त्री थापाले चुनाव अघि र पछिको दुबै गठबन्धन नेपालमा नचलेको बताउँदै अब संविधान संशोधन गर्दा यो कुरालाई हेक्का राख्न जरुरी रहेको उल्लेख गरे । काँग्रेस–एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै उनले त्यो वाचा विर्सिन नहुनेमा जोड दिए । थापाले अबको दशक ‘विकास, उत्पादन र रोजगारी’ को दशक हुनुपर्ने बताए । उनले काँग्रेसले भ्रष्टाचारमा मुछिएको कसैलाई पनि बचाउन नलाग्ने स्पष्ट समेत पारे । 


प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–२ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) र (ख) क्षेत्र नम्बर–२ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

क्षेत्र नम्बर–२ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, प्रदेश सभा (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरीले, (ख) का सचिव रोशन कुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र (ख) का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गरेका थिए । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गरेका थिए । 

यसैबीच वि.सं. २०७९ को निर्वाचन अघि नेपाली काँग्रेसकै राजनीतिमा सक्रिय नेताद्वय चन्तराम थारु र लक्ष्मण थारु पुनः काँग्रेसमा फर्किएका छन् । महामन्त्री थापाले दुबै जनालाई पार्टी प्रवेश गराएका हुन् । चन्तराम नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष र लक्ष्मण उपाध्यक्ष थिए । 

त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरेका थिए ।  सम्मेलनमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको निःशुल्क चेकचाँच गरेको थियो । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।