कोहलपुरमा प्रधानाध्यापकहरुको क्षमता विकासका लागि तालिम

कोहलपुरमा प्रधानाध्यापकहरुको क्षमता विकासका लागि तालिम

नेपालगन्ज १० जेठ : बाँकेको कोहलपुरमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम शुरु भएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकूद शाखाले आयोजना गरेको तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरे । 

तालिमलाई सिकाई र उपयोगीपूर्ण बनाउन उनले सुझाव समेत दिए । सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई एकै थलोमा राखेर तालिम गर्दा एक अर्काप्रति सिकाई आदानप्रदान हुने र यसले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने उनले विश्वास लिए । 

वार्षिक परीक्षा सकिएको र आगामी योजनाका लागि नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेका बेला आयोजना गरिएको तालिमले कोहलपुरमा शैक्षिक गुणस्तरमा आवश्यक सुझाव समेत प्राप्त हुने उनले विश्वास लिए ।

उनले परीक्षा प्रणाली व्यवस्थित गर्ने, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने सवालमा भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे । ‘यहाँ सामुदायिक र संस्थागत गरी दुवै क्षेत्रका प्रधानाध्यापकहरु सहभागी हुनुभएको छ,’’ उनले भने–‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एकआपसमा समान धारणा बनाउने र राम्रा अभ्यासहरु सबैले एक आपसमा कार्यान्वयन गर्ने वातावरण बन्नुपर्छ ।’ प्रधानाध्यापकहरुको भूमिका विद्यालय प्रशासन सुधारमा मात्रै सीमित नभएकाले विद्यालय बाहिरको वातावरण र समाज सुधारमा पनि केन्द्रित हुनुपर्नेमा नगर प्रमुख आचार्यको जोड छ । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक सुधार, प्रशासनिक सुधारका सवालमा प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा आफूलाई अव्वल बनाउनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थित बनाउन जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । 

Duduwa Tato hawa Bachau Image

यस्तै सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले शैक्षिक विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकताको विषय रहेको बताए । उनले सबै क्षेत्रको विकास आवश्यक भए पनि शैक्षिक विकास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैले कोहलपुर नगरपालिकाले शैक्षिक हवको परिकल्पना गर्दै आएको पनि उनको भनाई छ । 

शुक्रबारदेखि शुरु भएको तालिममा विद्यालयको शैक्षिक पाठ्यक्रम, व्यवस्थापकीय क्षमता, प्रधानाध्यापकहरुको काम कर्तव्य र जिम्मेवारी लगायतका विषयमा विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिने कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी शाखा अधिकृत शिला गौतमले जानकारी दिइन् । 

तालिममा शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, शिक्षा समन्वय इकाई प्रमुख धनसुदन चौलागाई, शिक्षा विज्ञ जीत बहादुर शाह, शिक्षा अधिकृत रविलाल मिजार, शिक्षकहरु ऋषि शर्माराज शर्मा र दिलिप ओलीले प्रशिक्षण दिनेछन् ।