आज देशभर चट्याङसहित वर्षाको सम्भावना
- | नेपाखबर
- ११ जेठ २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज १० जेठ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा रहेको छ ।
माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुनअगाडि बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारत मौसम विज्ञान विभागका अनुसार अबको दुई दिनमा मनसुन केरला आइपुग्नेछ । यसका लागि अनुकूल वातावरण बनिरहेको भारत मौसम विज्ञान विभागले बताएको छ ।
केरलामा रहेको मनसुन नेपाल आइपुग्ने सरदर समय १० देखि १४ दिन हो । नेपालमा केरला, सिक्किम हुँदै पूर्वी नेपालबाट मनसुन भित्रिन्छ ।
यो औसत समय हो । योभन्दा धेरै वा थोरै समयमा पनि मनसुन आउन सक्छ । कहिलेकाहीँ कुनै एक ठाउँबाट अर्को ठाउँमा छिटो गएर कुनै स्थानमा पुगेर लामो समयसम्म रोकिएर मनसुन अगाडि बढ्दैन । त्यसैले यही मितिमा मनसुन नेपाल भित्रिन्छ भनेर भन्न सकिदैन ।
नेपालमा मनससुन भित्रिने औसत मिति जुन १३ हो । तर, योभन्दा अगाडि वा पछाडि पनि मनसुन भित्रिन सक्छ । यो वर्ष मनसुन औसत समयभन्दा ढिलो भने भित्रिने सम्भावना कमै रहेको छ ।





0 Comments