राष्ट्रिय सभाः एक साताका लागि स्थगित भयो
नेपालगन्ज ७ जेठ : राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ। बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।
त्यसअघि बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।
राष्ट्रियसभाको बुधबारको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पनि पेस भएको थियो।
त्यस्तै राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे।
राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो। विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो।
बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।





0 Comments