किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान

किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान

कोहलपुर ५ जेठ : बाँकेको कोहलपुर नगरपालिकाले कृषि पेशामा आवद्ध भएका किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान दिन शुरु गरेको छ । 

चालू आर्थिक वर्ष ०८१-०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञ बहादुर रोकायले जानकारी दिए । 

कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं.१ देखि वडा नं.१५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरेको रोकायले बताए । 

५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागतमा मिनिटिलर वितरण गरिएको उनको भनाई छ । त्यसैगरी साना सिंचाई प्रबद्र्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनिटिलरको करीब १९ हजार रुपैयाँ मूल्य पर्छ भने पम्पसेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो । 

मिनिटिलर र पम्पसेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका निमित्त किसानहरुलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए । ‘कोहलपुर नगरपालिकामा किसानको संख्या पनि ठूलो छ,’ उनले भने–‘ती किसानहरुलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरुलाई कृषि यान्त्रिकीकरण, बीउविजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’ उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए । 

‘खासगरी साना किसानहरुलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ,’ उनले भने–‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।’ 

Duduwa Tato hawa Bachau Image

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सुवेदीले पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरु कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् । 

किसानहरुले अनुदानमा प्राप्त कृषि उपकरणहरुले उनीहरुको काममा सहजता थप्ने उनले विश्वास गरिन् । यस्तै किसान भेरी जेष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरु उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त मल, बीउविजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताइन् । यस्ता सहयोगले साना किसानहरु लाभान्वित हुने उनको भनाई छ । 

कोहलपुर नगरपालिकाले च्याउको बीउ तथा खाद्यान्न बालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिंचाईको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्रीले जानकारी दिइन् । 

‘कुलो निर्माण, स्यालो ट्युबवेल जडान, तरकारी प्रबद्र्धन कार्यक्रम, वीउविजन लगायत प्राविधिक सहयोग, मौरीपालन किसानहरुलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिकाबाट हुँदै आएको छ,’ उनले भनिन्–‘यसले किसानहरुलाई कृषि पेशाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’ 

चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कुल वजेट एक करोड ४१ लख ५० हजार रहेको छ । त्यसमध्ये निःशर्ततर्फ ३० लाख ५० हजार र सशर्ततर्फ एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयन भइरहेको छ ।