नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

नेपालगन्ज ४ जेठ : नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । पालिकाका सबै २३ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि आईतबार एक कार्यक्रमका बीच दिगोपना घोषणा गरिएको हो ।

 नेपालगञ्जमा १६ महिनादेखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए । 

घरधुरी सर्वेक्षणका क्रममा उपमहानगरपालिकाका १५ देखि २३ महिनाका लक्षित ३३ सय ५७ जना बालबालिकाहरुमध्ये ३१ सय ११ जना बालबालिकाले पूर्ण खोपको मात्रा प्राप्त गरेकोमा छुटेका २१८ जना र शून्य डोज बालबालिका २८ जना फेला पारी पूर्ण खोपका लागि नियमानुसार वडा स्वास्थ्य संस्थामार्फत समय तालिका बमोजिम सबै जना खोप लिने क्रममा रहेको स्वास्थ्य महाशाखा प्रमुख चन्दले जानकारी दिए ।

त्यसका लागि २३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई महिला स्वास्थ्य स्वयंसेविकासहित घरधुरी सर्वेक्षणका लागि परिचालन गरिएको थियो । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले सबै खोपको मात्रा लगाए नलगाएको एकिन गरिएको थियो ।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । 

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा बोल्ने बक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हुनुमा स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । 

नेपालगञ्ज २०७६ मा पूर्ण खोप घोषणा भएको थियो । तर, प्रत्येक बर्ष पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा गर्नुपर्दछ । त्यसै अनुसार यस वर्ष पनि पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । यो संगै यस बर्ष बाँकेमा सात वटा पालिका पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा भएका छन् । अब नरैनापुर गाउँपालिका मात्र घोषणा हुन बाँकी छ ।