शिशु मृत्युदर घटाउन स्वास्थ्यकर्मी प्रशिक्षण

शिशु मृत्युदर घटाउन स्वास्थ्यकर्मी प्रशिक्षण

नेपालगन्ज १ जेठः बाँकेमा शिशु मृत्युदर उच्च रहेको जनाउँदै सो घटाउनका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ तथा प्यारामेडिक्सलाई तालिम दिन सुरु गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले बताए ।

उनले भने, ‘नवजात शिशु मृत्युदर घटाउने उद्देश्यसाथ बाँकेमा बुधवारदेखि नवजात शिशु बालरोग एकीकृत व्यवस्थापन तालिम दिन सुरु गरिएको हो ।’

तालिमका सहभागी स्वास्थ्यकर्मीलाई नवजात शिशुको उपचार व्यवस्थापनका विभिन्न सीप तथा ज्ञानहरु सिकाइने र सोही माध्यमबाट शिशु मृत्युदर घटाउने मुख्य लक्ष्य रहेको स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताए ।

उनका अनुसार यो तालिमले स्वास्थ्य क्षेत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोगको दर कसरी कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइने बताइएको छ । 


Duduwa Tato hawa Bachau Image

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका २४ जना सहभागी सो तालिममा जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्याय, पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठसँगै भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का, अस्पताल नर्सिङ निरीक्षक सञ्जु रिजाल, तारा आचार्य र जनस्वास्थ्य निरीक्षक नवीन बुढाक्षेत्रीले सहजीकरण गरिरहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले उद्घाटन गरेको सो तालिम ६ दिनसम्म चल्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।