राजेन्द्रको कृषि पेशाबाट लोभलाग्दो आम्दानी
नेपालगन्ज ३० वैशाख : नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको मन जितेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका ३८ वर्षीय राजेन्द्रकुमार थारूले देशमै बसेर कृषि पेसाबाट उदाहरणीय सफलता हाँसिल गरेका हुन् । शुरुमा दुई कट्ठा जमिनबाट तरकारी खेती शुरु गरेका थारूले अहिले आफ्नै गाउँमा तीन बिघा जमिनमा तरकारी खेती विस्तार गरेका छन् ।
सिजनअनुसार उनले च्याउ खेतीलाई पनि प्राथमिकता दिएकछन् । च्याउ खेतीमा थारूले बनाएको टहरामा ५०० डल्ला च्याउ उत्पादन हुने गरेको छ । सो च्याउ प्रतिकिलो २०० रुपियाँका दरले बिक्री भइरहेको छ ।
थारूले तरकारी खेतीमा सिमी, करेला, टमाटर, र काउली उत्पादन गरिरहेको जनाउँदै यसबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले आफ्नो कृषि व्यवसायबाट तीन जनालाई रोजगारी दिएको जनाउँदै आफ्नो उत्पादन आफै बिक्री गर्न बजारसम्म जानुपर्ने बाध्यता भए पनि यसलाई निरन्तरता दिइरहेको बताए ।
थारुले कृषि कर्ममा आफूले धेरै मिहिनेत गरे पनि सरकारी सहयोग नपाएको गुनासो गरे । बैजनाथ गाउँपालिकाले च्याउको बिउ उपलब्ध गराएको भए पनि च्याउ खेतीलाई प्राथमिकता दिँदै बजेट विनियोजन नगरेको उनको गुनासो छ ।
त्यस्तै, उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया उनी आफैँले व्यवस्थापन गर्नुपरिरहेकोले पनि मिहिनेत धेरै गर्नुपरेको थारूले दुखेसो गरे । बैजनाथका राजेन्द्रजस्ता प्रेरणादायक कृषकहरूको सङ्ख्या बढाउन सरकारले प्रभावकारी कार्यक्रम र योजना बनाएर कृषिमा लाग्नेलाई सहयोग गर्नुपर्ने बाँके डुडुवाको हिरमिनियाका किसान मोहन मौर्यको माग छ ।
उनले यसका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, कृषि क्षेत्रमा लगानी गर्न चाहने युवालाई सहज ऋणको पहुँच दिनुपर्ने र प्राविधिक तालिमको व्यवस्था लगायत कृषि प्रविधिको प्रयोग बढाउन किसानलाई आवश्यक अन्य तालिम र सल्लाह दिनु आवश्यक रहेको बताए ।
बैजनाथका कृषक थारूले देखाएको बाटो नेपालका अन्य युवाहरूका लागि प्रेरणा बन्न सक्ने अधिकांश किसानको भनाइ छ । बाँके खजुराका किसान नरेश थापाले ठुलो रकम खर्च गरेर विदेश जानुको सट्टा स्वदेशमै लगानी गरेर मिहिनेत गरेमा कृषिमा धेरै राम्रो गर्न सकिने अवसरहरू रहेको बताए ।





0 Comments