क्षतिपूर्ति माग्दै मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध
राजमार्गमा सयौं सवारी अलपत्र
- | नेपाखबर | अपराध–घटना
- २६ वैशाख २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २६ वैशाख : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुमस्थित सौरी गाउँमा बसको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
हिजो बुधबार पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी–९ ढकेरी बाँकेका अन्दाजी ३३ वर्षीय सुदीप सुवेदीको मृत्यु भएको हो ।
उनलाई सोही दिशातर्फ जाँदै गरेको वा १–०६ ख ३५९३ नम्बरको यात्रुबाहक बसले कुसुमस्थित सौरीमा ठक्कर दिएको थियो । दुर्घटनामा ढकेरीकै अन्दाजी ३५ वर्षीय हिरा सिंह ओली घाइते भएका छन् ।
मृतकका परिवारले उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहीबार दिउँसो स्थानीयले कोहलपुरमा प्रदर्शन गरे। प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरू घटनास्थल सौरी पुगेर अपरान्हबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
कोहलपुरमा अवरुद्ध गरिएको सडक प्रहरी बल प्रयोग गरी अपरान्ह ५ः३५ बजे खुलाएको थियो । तर, त्यसपछि आन्दोलनकारीहरूले घटनास्थलमै पुगेर साँझ सवा ५ बजेदेखि सडक पुनः बन्द गरेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीयले मुढा तेर्साएर बाटो अवरुद्ध गरेका छन् र सडक खुलाउन थप प्रहरी परिचालन गरिएको छ ।
राजमार्ग अवरुद्ध भएपछि तीव्र गाडी चाप हुने सडकमा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिइन् ।
राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल चौधरीका अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा बस सञ्चालक समिति र स्थानीय प्रशासनबीच कुनै ठोस सहमति नभएकोले आन्दोलन चर्किएको हो ।
‘मृतकका परिवारलाई बीमाबाट प्राप्त हुने पाँच लाखबाहेक नाबालकको शिक्षादीक्षा र लालनपालनका लागि थप राहत माग गरिएको छ,’ वडाध्यक्ष चौधरीले भने। उनका अनुसार बिहीबारसम्म सम्बन्धित पक्षहरूबीच छलफल शुरु नै नभएको अवस्था छ।





0 Comments