गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री

नेपालगन्ज २१ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताएकाछन् ।

उनले सिकलसेल र थालेसिमिया रोगीहरूलाई सङ्क्रामक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आइतबार नेपालगन्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै सो बताएका हुन् ।

मन्त्री पौडेलले पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालहरूको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको आफुले पाएको जनाउँदै अझै बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारी अस्पतालहरुका बारेमा यदाकदा विभिन्न प्रकारका नकारात्मक टिका टिप्पणीहरू सुनिने गरिएको जनाउँदै उनले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने कुरालाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री पौडेलले तर, निकै सिमित बजेट र साधन स्रोतका कारण चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था रहेको बताए ।

यो पनि: भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन

उनले स्वास्थ्य वीमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा राम्रो स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएर लागेको जनाउँदै त्यसमा देशका अन्य सरोकारवाला र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक परेको बताए ।

भेरी अस्पतालमा सिकलसेलको छुट्टै वार्ड सञ्चालन गरिएपछि निकै सहज भएको जनाउँदै मन्त्री पौडेलले सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको कुरामा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालहरूका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताए ।

कार्यक्रममा अस्पतालका प्रमुख डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिहरूका बारेमा जानकारी गराएका थिए ।

Duduwa Tato hawa Bachau Image

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिंग प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आआफ्नो धारणा राखेका थिए ।

सो अवसरमा मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरेका थिए ।

सोक्रममा मन्त्री पौडेल, मन्त्रालयका सचिव डा देवकोटाले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन वार्ड, सर्जिकल विङ्ग लगायत अस्पतालका विभिन्न विभाग र वार्डहरूमा पुगेर निरीक्षण गर्दै बिरामीहरूलाई भेटेर उपचारको अवस्था बारे जानकारी लिएका थिए ।