बाढी पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

बाढी पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

नेपालगन्ज १८ वैशाख : नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको अयोजनामा नेपाल बाढी सामान्य पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा बाँके, बर्दिया र कैलाली जिल्लाका ११ वटा पालिकाहरुमा उक्त गतिविधि सञ्चालन हुनेछ । 

बाढी विपदको उच्च जोखिममा रहेका २२ वटा समुदायलाई लक्षित गरिएको छ । कार्यक्रमबाट १० हजार जना लाभान्वित हुने बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यबहाक सभापति शान्ति श्रेष्ठले बाढी विपदबाट प्रभावित हुने समुदायलाई हेरेर योजना निर्माण गर्ने र विपद पूर्व समुदायलाई सचेत गराउन अनुरोध गरिन् । 

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले स्थानीय तहको नेतृत्वमा रेडक्रसले विपद व्यवस्थापनमा प्राविधिक सहयोग गर्नुका साथै स्वयंसेवक परिचालन गरी समुदायलाई सहयोग गर्दै आएको स्मरण गराए । 

कार्यक्रममा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाका विपद फोकल पर्सन र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Duduwa Tato hawa Bachau Image

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यबाहक सभापति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी र उद्देश्यमाथि केन्द्रिय कार्यालय आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक डम्बरबहादुर विष्टले प्रकाश पारेका थिए । 

अभिमुखीकरणको सहजीकरण नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका प्रमोद अधिकारीले गरेका थिए भने केन्द्रकै विवेक कायस्थले जलवायु परिवर्तन सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।