कश्मीर हमलामा बुटवलका सुदिपको मृत्यु
- | नेपाखबर | विदेश | अपराध–घटना
- १० वैशाख २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज १० वैशाख : बुटवल उपमहानगरपालिका–१४ बेलभरिया घर भई बुटवल–११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु–कश्मीरको आतङ्कवादी हमलामा परी मृत्यु भएको छ ।
सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिबार भारतको जम्मु–कश्मीर घुम्न गएका थिए ।
बुटवल उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव बुधबार साँझसम्म काठमाडौं ल्याउने तयारी भएको जानकारी दिए । उनले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताए ।
जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा ‘पब्लिक हेल्थ’ विषय पढ्दै गरेको बताइएको छ । उनीसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।
यसैगरी बुटवल–१४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताए । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको बताउँदै घटना सुनेपछि आफूहरु शोकका परेको बताए ।
सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापनरत छन् । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल–११ कालिकानगरमा बस्दै आएका थिए ।
बुटवल–१४ का वडा सदस्य रामप्रसाद पराजुलीले सुदिपको भारतको कश्मीरमा आतङ्कवादी हमलामा परि मृत्यु भएको सुन्दा बेलभरिया गाउँ नै शोकमा डुबेको बताए । उनले सुदिपको बसाई बुटवल–११ कालिकानगरमा रहेपनि घरजग्गा सबै बुटवल–१४ बेलभरियामा रहेको जानकारि दिए ।
यस्तै, स्थानीय मैया पराजुलीले सुदिप अत्यन्त मिलनसार रहेको बताउँदै घटना सुनेपछि गाउँ नै शोकमा परेको बताए ।





0 Comments